Logo

निर्मला पन्त बलात्कार–हत्या प्रकरण : विज्ञ सम्मिलित टोली गठन



काठमाडौं ८ असोज । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको १४ महिनापछि प्रहरी प्रधान कार्यालयले आफ्नै विधि विज्ञान प्रयोगशालामा भएको डिएनए परीक्षणबारे उठेका शंका जाँच गर्न विज्ञ सम्मिलित टोली गठन गरेको छ ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक डा. जीवन रिजालको संयोजकत्वमा गठित टोली पाँच सदस्यीय छ । टोलीमा त्रिवि शिक्षण अस्पतालका एक विज्ञ चिकित्सक पनि छन् ।

गत वर्ष साउन १० मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको ठहर गर्दै सुरु भएको भनिएको अनुसन्धान अझै निष्कर्षमा पुगेको छैन ।

निर्मलाको भेजाइनल स्वाबबाट संकलित नमुनाबाट नै प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीएनए नमुना निकालिएको थियो । निर्मला बलात्कार र हत्या प्रकरणबारे राष्ट्रिय मानवअधिकार आयोगले गरेको अनुसन्धानले डीएनए नमुना निकाल्ने क्रममा त्रुटि भएको हुन सक्ने र निकालिएका तीन नमुनामध्ये सबै नष्ट हुनु शंकास्पद रहेको भन्दै यसबारे अनुसन्धान गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन निकालेको थियो । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्