Logo

सरोज सिटौला र ज्योति बानियाँबीच कार्यक्रममै चर्काचर्की (भिडियोसहित)



काठमाडौं, ८ असोज । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्य प्रसाद सिटौला (सरोज) र उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँबीच टिभी कार्यक्रममै चर्काचर्की परेको छ ।

मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनीहरु एक अर्काविरुद्ध खनिएका हुन् । सिटौलाले दशैंमा घर जाने यात्रुहरुलाई टिकट र गाडीको कुनै समस्या नहुनेगरि प्रवन्ध गरिएको दाबी गरेका छन् । तर, उनको दाबीलाई बानियाँले सिधै खण्डन गरे । बानियाँले टिकट काट्नकै लागि बसपार्कमा सर्वसाधारण मान्छे ठूलो लाईनमा बस्नु परेको गुनासो पोखे । उनले त चाडपर्व नजिकिएसँगै अनुगमनको नाममा सरकारी नाटक सुरु भएको पनि आरोप लगाएका छन् ।

उता, महासचिव सिटौलाले दशैंमा काठमाडौं उपत्यकाबाहिर जाने यात्रुको चापलाई ध्यानमा राखेर आफूहरुले यातायातको राम्रो व्यवस्थापन गरेको सुनाए । सिटौलालले भने,‘असोज १२ गतेदेखि १८ गतेसम्मको ६ दिनको अवधिमा झण्डै २० लाख यात्रु काठमाडौं बाहिर जान्छन् । हामी त्यसको लागि राम्रो व्यवस्थापन गर्नेगरि गृहकार्यमा जुटेका छौं ।’उनले यसपटक आफूहरुले अनलाईनमार्फत टिकट बुकिङ गर्ने अपेक्षा गरेपनि अन्तिम समयमा आएर त्यस्तो व्यवस्था गर्न नसकेको सुनाए । उनले भने,‘अनलाईनमार्फत बुकिङ हुनुपर्दथ्यो, तर लाईन बस्नु पर्यो त्यो दुर्भाग्य हो । यातायातमा मात्रै होईन, सबै क्षेत्रमा यही बेतिथि छ, हामीले यो प्रथाको अन्त्य गर्नुपर्छ ।’

उनले अग्रिम बुकिङ हिजोबाट खुलेको सुनाउँदै पहिलो दिन भीड लागेको बताए । तर, अहिले टिकट काट्दा त्यस्तो भीड नभएको पनि उनले स्पष्ट पारे । उनले यात्रुहरुको चापलाई ध्यानमा राखेर गुल्मी र अर्घाखाँची जाने यातायातको संख्या थप गरिएको पनि जनाए । यातायातसम्बन्धी तीन तहको सरकारले स्पष्ट ऐन नल्याएको, यातायातमा लगानीको सुरक्षा नभएको लगायतका केही समस्या रहेको उनले सुनाए । त्यस्तै, उनले वीमा नीति पनि प्रष्ट हुनुपर्ने माग गरे ।

उनले सडकको स्तरोन्नती गर्नतर्फ सरकारको ध्यानाकार्षण गराए । उनले भने,‘सडकको बारेमा कसले बोल्ने रु गाउँका सडकको त कुरै छोडौं, यहीँ काठमाडौंका सडकको बारेमा कुरा गरौं, सामाखुशीबाट टोखा जाने सडक हिँड्न सक्ने अवस्थामा छैन् ।’ सिटौलाले टिकमा कुनै समस्या नभएको पनि जिकिर गरे । उनकाअनुसार १२ गते घट्स्थापनादेखि फुलपातीसम्म काठमाडौं उपत्यका बाहिर जाने यात्रुको आँधीबेहरी नै आउँछ ।

उनले यात्रुको चापलाई हेरेर आफूहरुले सोहीअनुसारको यातायात व्यवस्थापन गरेको सुनाए । यात्रुहरुलाई दुःख र मार नपरोस भनेर आफूहरु असाध्यै खटेको पनि उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्