Logo

एनसेल कार्यालयमा बम हान्ने पक्राउ



ललितपुर, ८ असोज । एनसेल कार्यालयमा बम विस्फोटन गराई फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर लुभु बस्ने कालिकोट नरहरिनाथ गाउँपालिका १ घर भएका हितमान भन्ने नविन बिश्वकर्मा रहेका छन् ।
२०७५ फागुन १० गते ललितपुर नख्खुस्थित एनसेलको कार्यालय अगाडि बाटोमा भएको बम बिष्फोटन घटनामा संलग्न फरार रहेका बिश्वकर्मालाई ६ असोजको साँझ प्रहरीले पक्राउ गरेको हो । उक्त बिष्फोटनमा ललितपुर भैसेपाटी बस्ने लमजुङ मेलुङका सिंह बहादुर गुरूङको मृत्यु भएको थियो भने अन्य दुईजना घाइते भएका थिए ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका ३ बोझेपोखरीस्थित प्रदेश ३(०२(००३ प ५१३१ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको जनाएको छ । उनको साथबाट नेकपा बिप्लव समुहसंग सम्बन्धीत बिभिन्न प्रकारका किताब, डायरीहरु तथा बिभिन्न कम्पनीको मोवाइल तथा सिम कार्डहरु समेत प्रहरीले बरामद गरेको छ ।

२०७५ बैशाख ९ गते ललितपुर महानगरपालिका २३ धापाखेलस्थित तत्कालिन प्रमुख निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवको घर कम्पाउण्डमा बम बिष्फोटन भएको घटनामा समेत बिश्वकर्मा संलग्न रहेको परिसरले जनाएको छ । पक्राउ बिश्वकर्मालाई आवश्यक कार्वाहीको लागि मंगलबार जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

उक्त घटनामा संलग्न सुर्दशन भन्ने हेमन्त प्रकाश ओली २०७५ चैत ९ गते ललितपुर चापागाँउ ठेचोबाट पक्राउ परी बिष्फोटक पदार्थ (बम) बिष्फोटन गराई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य बिरुद्दको कसुर र संङ्गठित अपराध सम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि थुनामा रहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot