Logo

भारतसँग विशेष सम्बन्ध राख्नुपर्छ, नेकपा सच्चिनुपर्छ : कर्ण (भिडियोसहित)



काठमाडौं, ८ असोज । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले नेपालले भारतसँग विशेष सम्बन्ध राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले भने,‘भारतमा जति नेपालीहरु छन् । अधिकांश काम गरेर बसेका छन् । हामीबीच खुल्ला सिमाना छ । रोटी–बेटीको सम्बन्ध भन्छौं, सदियौंदेखि विशेष सम्बन्ध छ । यसलाई कायम राख्नुपर्छ ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिलेपनि आफूहरुको संविधानप्रति असन्तुष्टि रहेको सुनाए । तर, संविधानको प्रस्तावनामा आफूहरुको पूर्ण समर्थन रहेको उनको स्पष्टोक्ति थियो । उनले भने,‘अधिकारसम्बनधी असन्तुष्टि छ । मधेशी, दलित, जनजाति, थारु, आदिवासीको अधिकार यो संविधानमा संकुचित छ । तर, संविधानको प्रस्तावनाप्रति हाम्रो असन्तुष्टि होईन । हाम्रो देशमा बहुदलीय शासन पद्धती । हामी एक पार्टीको शासनमा विश्वास गर्दैनौं ।’

सरकार गठन संसदीय व्यवस्थामा आधारित रहेको कुरा वर्तमान संविधानको प्रस्तावनाले अंगिकार गरेको सुनाउँदै प्रस्तावनाप्रति आफूहरुको असन्तुष्टि नरहेको कर्णको जिकिर छ । उनले चीनले आफ्नो विकास उसको आफ्नै पद्धतीबाट गरेको होला भन्दै त्यही पद्धतीअनुसार नेपालले विकास गर्न नसक्ने जिकिर गरे । उनले भने,‘चीनमा एक दलीय प्रणाली छ । यहाँपनि त्यही गर्न खोजेको हो भने कि त संविधान मान्दिन भनेर भन्नुपर्यो । यो हाम्रो धरातल हो । यसैमा नेपाली जनताको आशा छ । यसलाई परिवर्तन गर्ने हो भने अर्के बाटो हो भनेर भन्न सक्नुपर्छ ।’

सरकार सञ्चालन गर्ने नेकपाले आफ्नो घोषणापत्रमा कहीँपनि एक पार्टी प्रणालीमा लग्छौं भनेर नभनेको उनको दाबी छ । उनले भने,‘नेपाली जनताले एक दलीय प्रणालीको लागि भनेर नेकपालाई अभिमत दिएको होईन् । चाईनिज डेलिगेशन आउनु राम्रो हो । भारत र अमेरिकाको पनि आउँछ । जुन किसिमले चिनियाँ कम्युनिष्ट पार्टी चलिरहेको छ, त्यो अवधारणाबाट हेर्ने हो भने निश्चित रुपमा चिन्ताजनक अवस्था छ । त्यहाँ त एक दलीय शासन छ । आजिवन राष्ट्रपति हुने कुरा गरिएको छ ।’

उनले नेपालमा आफूहरुले आवधिक निर्वाचनको व्यवस्था गरेको र राम्रो काम नगरे सरकार फेर्न सक्ने व्यवस्था गरेको पनि सुनाए । उनले भने,‘हामीले यही कुरा कबुल गरेका छौं । अब कम्युनिष्ट पार्टीले बाटो परिवर्तन गर्ने हो भने जनअभिमत र संविधानलाई धोका दिएको ठहरिन्छ । डेलिगेशन आए, गए यो राम्रो कुरा हो । छिमेकीसँग सम्बन्ध बढाउनुपर्छ । विकास, जनस्तर, देशको सम्बन्ध बढाउनुपर्छ । एउटा पार्टीले मेरो सिष्टम यस्तो छ, यसैगरि जा भनेर सिकाउँछ भनेर त्यो आपत्तिजनक छ । नेकपा सच्चिनुपर्छ ।’

नेकपाकै एकजना अर्थमन्त्री भैसकेको नेताले ‘चीनले व्यापारिक हितमात्रै हेर्छ’ भनेर अभिव्यक्ति दिएको सुनाउँदै कर्णले यो कुराको सरकारले मनन गर्नुपर्ने सुझाए । उनले भने,‘नेपालमा बाटो बन्छ, रेल आउँछ भने यसको हामी सबैले स्वागत गर्नुपर्छ । तर, चीनले ऋणमा बनाईदिने हो भने स्वागत गर्नुहुँदैन् । बरु, सहायता दिएर रोड, रेल बनाउँछ भने ठिक छ । पाकिस्तानमा गरेजस्तो विकास नेपाली जनताले स्विकार गरेको होईन । श्रीलंकाजस्तो हामीले स्विकार गरेको होईन। यदि त्यो मोटिभबाट काम हुन्छ भनेर नेपाली जनताले स्विकार गर्दैनन् । हाम्रो कन्सर्नको विषय त्यो हो । हामी सतर्क हुनुपर्छ । हामीले पाकिस्तान र श्रीलंकामा चीनको ऋण देख्यौं । त्यही किसिमको नेपालमा हुँदैन् ।’

उनले आफ्नो विकासको लागि सबैसँग सहयोग लिन सकिने भएपनि नेपालको एक ईन्चपनि जग्गा धितो वा बन्धक राखेर विकास गर्न नेपाली जनताले नचाहने स्पष्ट पारे । उनले भने,‘यो नेपाली जनताको चेतना हो । विकासको नाममा हामी आफ्नो देशको जग्गाजमिन धितो राख्न सक्दैनौं । यो विषयलाई पनि हामीले विश्लेषण गर्नुपर्छ ।’

नेपाल सरकार नेपालको पक्षमा र लोकतन्त्रको पक्षमा उभिनुपर्ने उनको धारणा छ । उनले भने,‘संसदीय व्यवस्था र बहुदलको पक्षमा उभिनुहोस भन्ने मेरो आग्रह हो । मैले कसैलाई गाली नगरिकन नेपाली जनताको सोच र संविधानको भावनअनुसार सबै पार्टी अघि बढ्नुपर्छ भनेको हुँ। संविधानको उल्लंघन गर्ने काम कोही कसैबाट पनि हुनुहुँदैन् ।’



प्रतिक्रिया दिनुहोस्