Logo

सीको भ्रमण सुनिश्चित गर्दै फर्कियो चिनियाँ टोली



काठमाडौं १० असोज । राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सुनिश्चितताको सन्देश दिएर चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरू फर्केका छन् । नेकपाको स्कुल विभागसँग ‘सी चिनफिङ विचारधारा’ माथि छलफल चलाउन आएका चिनियाँ टोलीका प्रमुख सङ ताओले भ्रमणको आश्वासन दिएका छन् ।

दुई पार्टीबीचको छलफललाई राष्ट्रपति सीको भ्रमणको तयारीका रूपमा लिइएको छ। सी असोज अन्तिम साता आउने तयारी छ। राष्ट्रपतिको भ्रमणअघि चिनियाँ टोली त्यसको अध्ययन गर्ने सिलसिलामा अन्य मुलुकमा पनि जाने प्रचलन छ। प्रायः विदेश विभाग प्रमुख सङ नै त्यस्तो भ्रमणको तयारीका लागि अन्य मुलुकमा जाने गरेका छन्।

यसअघि राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जानुअघि सङ तीनपटक उत्तर कोरिया पुगेका थिए। विदेश विभाग प्रमुख सङको राष्ट्रपति सीसँग सिधा रिपोर्टिङको च्यानल रहेको छ। ‘चिनियाँ टोलीले राष्ट्रपति सी आउने सन्देश दिएको छ। कहिले, कसरी आउने भन्ने तय हुँदै जान्छ,’ विचारधारात्मक छलफलको नेपालतर्फ संयोजन गरेका नेकपा स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले भने।

नेकपाका नेताहरूले मंगलबार दुई पार्टीबीच सम्झौता गर्दा राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर रहेको धारणा राखेका थिए। त्यसको जवाफमा सङले ‘तपार्इंहरूको आशा पूरा हुने विश्वास गर्नुहोस्’ भनेका थिए। राष्ट्रपति सीको भ्रमणका विषयमा चिनियाँ टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टाछुट्टै छलफल गरेको थियो। छलफलमा उनीहरूले यहाँको सुरक्षा व्यवस्थाबारे पनि जिज्ञासा राखेका थिए। ‘सी चिनफिङ विचारधारा’ मा भएको छलफलबाट चिनियाँ टोली प्रभावित भएको नेकपाका नेताहरूले दाबी गरेका छन्।

चीनतर्फ ढल्किएका होइनौं : पोखरेल
नेकपा स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले सी विचारधारामाथि छलफलकै कारण नेपाल चीनतर्फ ढल्कियो कि भन्ने भ्रम नराख्न आग्रह गरेका छन्। ‘दुइटा पार्टीबीच वैचारिक आदानप्रदान विगतमा पनि हुँदै आएको हो। हामीले अहिले पार्टी स्कुल सुरुवात गरेका छौं। बदलिँदो अवस्था र विषयअनुसार हामी प्रशिक्षित हुँदै जान्छौं,’ उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले कान्तिपुरसँग भने, ‘यसमा कसैले रोइकराई गर्नु आवश्यक छैन। हामी सन्तुलित ढंगले सबै मुलुकसँग कूटनीतिक सम्बन्ध राख्छौं।’

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आएर संसद्मा सम्बोधन गरेको उदाहरण दिँदै छिमेकीहरूको विचार आदानप्रदानलाई कसैतर्फ ढल्कियो भन्ने ठान्नु गलत रहेको बताए। ‘हामी सबै छिमेकीलाई सम्मान र समान व्यवहार गर्छौं,’ पोखरेलले भने, ‘भोलिका दिनमा बजार अर्थ व्यवस्थाबारे बेलायत, अमेरिकाले पनि यहाँ आएर प्रवचन दिन सक्छन्, यसमा अन्यथा लिनुपर्ने अवस्था छैन।’
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्