Logo

सानैमा बिहे, पछि छोडपत्र



काठमाडौं १० असोज । कर्णालीमा ५२ प्रतिशत विवाह उमेर नपुग्दै हुने गर्छ। आधा नागरिक गरिबीले थिचिएको कर्णाली प्रदेश बालविवाहका कारण थप आक्रान्त बन्दै गएको छ। कलिलैमा गरिने बिहेका कारण धेरै परिवार टुक्रिएका छन्। सम्बन्धविच्छेद र बहुविवाह गर्ने क्रम बढेको छ।

कुरीति, अशिक्षा र आर्थिक अभावकै कारण बालविवाह गर्ने दर बढेको सरकारी तथ्यांकले देखाएको छ। उमेर नपुग्दै गरिने बिहेका कारण आमा र शिशुको मृत्युदर बढेको छ। अधिकांश बालबालिकाले बीचमै विद्यालय छाड्ने गरेका छन्। बालविवाहविरुद्ध सरकारी तथा गैरसरकारी निकायबाट कर्णालीमा बर्सेनि करोडौं रकम खर्च भइरहेको छ। तैपनि, बालविवाह रोकिएको छैन।

बालविवाह न्यूनीकरणका लागि थालिएका अभियान प्रभावकारी नहुँदा यहाँका किशोरी बढी पीडित छन्। उमेर नपुग्दै गर्भवती हुने र बच्चा जन्माउन नसक्दा अकालमै ज्यान गुमाउन बाध्य छन्। पढ्ने उमेरमा बिहे गरेका धेरै जोडीले विद्यालय छाडेका छन्। आर्थिक अभाव देखाउँदै कतिपय अभिभावकले नै उमेर नपुग्दै सन्तानको बिहे गरिदिन्छन्।

प्रेम सम्बन्धका कारण अधिकांश बालबालिकाले उमेर नपुग्दै हतारमा बिहे गर्ने गरेका छन्। अभिभावकको अनुमतिबिना कलिलैमा बिहे गरेका धेरै जोडी परिवारबाटै तिरस्कृत छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार ग्रामीण क्षेत्रमा बढी बालविवाह हुने गर्छ। जसकारण किशोरी आमाको संख्या बढेको, मातृमृत्युदर बढेको, अधिकांश बालबालिकाले बीचमै पढाइ छाडेको, सम्बन्धविच्छेद र बहुविवाह बढेको तथा किशोरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको बाल अधिकारकर्मीको भनाइ छ। हतारमा बिहे गर्ने र आर्थिक व्ययभार थेग्न नसकेर धेरै किशोर रोजगारीका लागि बिदेसिन बाध्य छन्।

कतिपय जिल्लामा बालविवाहविरुद्ध अभियानको नेतृत्व गर्ने बालबालिकाले नै बालविवाह गरेका छन्। यसले बालविवाह न्यूनीकरणमा थप चुनौती देखा परेको छ।

किशोरी आमाको मृत्युदर बढ्यो

जुम्लाको तातोपानी गाउँपालिका–७ ताम्तीकी १८ वर्षीया संगीता रावतको सुत्केरी हुन नसकेर ज्यान गयो। यो घटनामा संगीताले बच्चालाई जन्म दिन सकिनन्। चन्दननाथ नगरपालिका–७ की किशोरी विष्णुमाया महतको पनि सुत्केरी हुन नसकेरै मृत्यु भयो। सानै उमेरमा बिहे गरेका कारण सुत्केरी हुने क्रममा मृत्यु हुने किशोरीको संख्या कर्णालीमा बढ्दो छ। सुत्केरी हुँदा उच्च रक्तस्रावका कारण जुम्लाकै तातोपानी गाउँपालिका–४ जयतपुरकी किशोरी लक्ष्मी कामीको घरमै ज्यान गयो।

कलिलै उमेरमा गर्भवती हुने र स्वास्थ्य संस्थामा नियमित गर्भ चेकजाँच नगर्दा अधिकांश किशोरीको अकालमै मृत्यु हुने गरेको स्वास्थ्य कार्यालय जुम्लाका निमित्त प्रमुख लक्ष्मण चौलागार्इंले बताए। अधिकांश किशोरी पाठेघरमा समस्या देखिएका कारण पीडित छन्।

बिहेसँगै छुट्छ पढाइ

जाजरकोटको त्रिभुवन मावि खलंगामा कक्षा ६ मा पढ्दै गर्दा सविता खत्रीले १२ वर्षको उमेरमै बिहे गरिन्। पुल निर्माण गर्न जाजरकोट आएका धादिङका १८ वर्षीय दुर्गा तामाङले सवितालाई भगाएका हुन्। बिहेसँगै उनको पढाइ छुटेको छ। सोही विद्यालयकी १३ वर्षीया लक्ष्मी घर्ती, १३ वर्षकै विमला कुँवर र १४ वर्षकी कल्पना विकले पनि विवाह गरिन्। बिहेपछि उनीहरूले बीचमै पढाइ छाडेको शिक्षक तेजबहादुर खत्रीले बताए।

विद्यालय तहमा पढ्दा पढ्दै बिहे गर्नेको संख्या जाजरकोटमा मात्र होइन, कर्णालीका सबै जिल्लामा उस्तै छ। मोबाइल र फेसबुकको बढ्दो प्रयोगले पनि विद्यालय उमेरमै विवाह हुने क्रम बढेको छ। उमेर नपुग्दै बिहे गर्दा पढ्न नपाए र बेरोजगार बन्दा घरेलु हिंसा हुने गरेको छ।

जिल्ला बालकल्याण समितिका अनुसार जाजरकोटमा मात्रै ७४ प्रतिशत बालविवाह हुने गरेको छ। बालविवाह गर्नेमा बालिकाको संख्या धेरै रहेको अधिकारकर्मी शोभा सिंहले बताइन्।

बढायो बहुविवाह

सल्यानको छत्रेश्वरी गाउँपालिका–६ की सुशीला सुनारले १७ वर्षमा बिहे गरिन्। ०७२ मा सोही ठाउँका रविन सुनारसँग विवाह गरेकी उनी हाल एक्लै छिन्। उमेर नपुग्दै विवाह गरेका उनीहरू सँगै बस्न सकेनन्। पतिले अर्कैसँग विवाह गरी भारत पसेपछि सुशीला एक छोरीसहित माइतीमा बस्दै आएकी छन्।

यस्तै, १८ वर्षमा विवाह गरेकी दार्मा गाउँपालिका–६ की केशरी विकका पतिले पनि अर्को विवाह गरी उनलाई छाडे। दुई छोराछोरी हुँदाहुँदै पति ज्ञानबहादुर नेपालीले बहुविवाह गरेको भन्दै उनले प्रहरीमा मुद्दा दायर गरेकी छन्। ज्ञानबहादुरले सोही ठाउँकी मीना विकसँग दोस्रो बिहे गरेका हुन्। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्