Logo

ग्राहक बनेर पुग्यो प्रहरी



चितवन, ९ असोज । जिल्ला प्रहरी कार्यालय चितवनले बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ को ईट्टाभट्टीका ४३ वर्षीय दीपक भन्ने चिरिञ्जिवि सेन ठकुरी, पाल्पा निस्डी गाउँपालिका–२ सलहकोटका ३३ वर्षीय चुमबहादुर राना, बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ का २६ वर्षिय हिम साङ्वो गौचनलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले बाघको दाँतसहितको तीन थान छाला बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

प्रहरीले उनीहरुलाई मंगलबार राती ११ बजे नारायणगढको पुल्चोकबाट पक्राउ गरेको हो। बाघको छाला बाग्लुङको ढोरपाटन नगरपालिका–९ को बोबाङ शेराबाङबाट बेचबिखनका लागि ल्याईएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए।

बाघको छाला बिक्री वितरण गर्ने सुचनाका आधारमा प्रहरी नै ग्राहक बनेर मोलमोलाई गर्न गएको उनले जानकारी दिए। सोही क्रममा छालासहित तीन जनालाई पक्राउ गरिएको हो।

बरामद गरिएको छाला र पक्राउ परेकालाई आवश्यक कानुनी कारबाही तथा अनुसन्धानका लागि जिल्ला डिभिजन वन कार्यालयमा बुझाईएको उनले जानकारी दिए। बाघ दुर्लभ एवम् संकटान्मुख वन्यजन्तुको सुचीमा पर्दछ।आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्