Logo

चिनियाँ प्रभाव बढेसँगै अमेरिका र भारतको सक्रियता



काठमाडौं, १० असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र चिनियाँ प्रभाव बढेसँगै अमेरिका भारत सतर्क बनेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसहितका नेताहरुलाई नेपालमै बोलाएर नेकपाको प्रशिक्षण राखिनु र त्यसमा सहभागी हुन तछाडमछाड हुनुले नेपालमा चासो राख्दै आएका अमेरिका र भारत सतर्क भएका हुन् ।

नेपालको इतिहासमा हालसम्म नभएको विदेशी पार्टीलाई औपचारिक निम्तो गरी प्रशिक्षण दिने र त्यसमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयं सहभागी हुनुले राजनीतिक वृत्तमा तरंग आएको छ । यसप्रति अन्तर्राष्ट्रिय चासो समेत बढेको छ । अमेरिकी राजदूत रेण्डी बेरीले बिहिबार एकाएक सक्रियता देखाए । उनले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेर यसबारे चासो राखे । अमेरिका र भारतसँग नजिक भनी चिनिएका नेता नेपालसँगको भेटलाई अर्थपूर्ण मानिएको छ ।

बेरीले बिहिबार नै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानिलकण्ठस्थित निवासमा पुगेर भेटे । दुवै भेट चिनियाँ कम्युनिष्ट पार्टीसँग नेकपाको समझदारीपछि भएको हो ।

चिनियाँ प्रशिक्षण सकिएलगत्तै भारतबाट प्रभावशाली व्यक्तिहरु नेपाल आए । बिहिबार काश्मिरको विषयमा राष्ट्रिय स्वयंसेवक संघका प्रचार विभाग प्रमुख अरुण कुमारले आफ्नो धारणा राखे । भारतको सत्तारुढ भारतीय जनता पार्टीको मातृदलका प्रभावशाली नेताको नेपाल यात्रालाई महत्वका साथ हेरिएको छ । उनले काश्मिरबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रममा राजनीतिक दलका नेता, पूर्व सुरक्षा प्रमुख, पूर्व राजदूत देखि विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । उक्त कार्यक्रममा उपस्थितिले राजनीतिवृत्तमा चासो पाएको छ ।

नेपाली राजनीतिमा चीनको प्रभाव बढेको सन्देश प्रवाह भइरहँदा अमेरिका र भारतले चाल्ने कदमले निम्त्याउने अवस्थाबारे आँकलन हुनथालेको छ । यसले नेपाल कतै शक्तिकेन्द्रको क्रिडास्थलमा परिणत हुने त होइन भन्ने चासो बढेको छ ।



प्रतिक्रिया दिनुहोस्