Logo

एनआरएनए नेतृत्वमा रस्साकस्सी



काठमाडौं, १० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन यही असोज २८–३० सम्म काठमाडौंमा हुँदैछ । संघको नेतृत्वको लागि वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यले उम्मेद्धवारी घोषणा गरिसकेका छन् । पन्त सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट मानिन्छन् भने आचार्य कांग्रेसनिकट छन् ।

वर्तमान अध्यक्ष भवन भट्टले यसअघि नै अध्यक्षमा कुमार पन्तलाई सघाउने प्रतिबद्धता जनाईसकेका छन् । धेरैले भट्टले संघको नेतृत्व दोहोर्याउने अनुमान लगाएका थिए । तर, भट्टले आफू अब अध्यक्षमा नउठ्ने भनेर सार्वजनिक घोषणा गरिसकेका छन् । भट्टलाई अध्यक्ष बनाउनको लागि पन्तले ठूलो सहयोग पुर्याएका थिए । यसपटकको महाधिवेशनमा सर्वसम्मतीले नै नेतृत्व चयन गर्ने तयारी संस्थापक अध्यक्षहरुको छ । तर, महाधिवेशन आउनु २० दिन अघि नै नेतृत्वको लागि दुई जनाको उम्मेद्धवारी परिसकेको छ ।

कुमार पन्तद्धारा एनआरएनएको अध्यक्षमा उम्मेद्धवारी घोषणा (भिडियोसहित)

अध्यक्षमा वर्तमान उपाध्यक्ष कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् । पन्तले गत शुक्रबार काठमाडौं याक एण्ड यति होटलमा पत्रकार सम्मेलन गरी उनले आफ्नो उम्मेद्धवारी घोषणा गरेका थ्उि । असोज २८ देखि ३० सम्म चल्ने नवौं विश्व सम्मेलन तथा अधिवेशनले एनआरएनएको दुई वर्षे (२०१९–२०२१) कार्यकालका लागि नयाँ कार्यसमिति छनोट गर्नेछ। अधिवेशनमा विभिन्न देशबाट लगभग दुई हजार प्रतिनिधि सहभागी हुनेछन्।

एनआरएनए अध्यक्षका लागि कुल आचार्यको उम्मेदवारी घोषणा (प्रतिबद्धता पत्रको पूर्णपाठ)

उता, आचार्य वेलायतको हालै सम्पन्न अधिवेशनबाट निर्वा्चित पुनम गुरुङ तथा प्रतिष्पर्धी शेर सुनार दुबैलाई साथमा राखेर आचार्यले आफ्नो उमेद्वारी घोषणा गरेका थिए । आचार्यको उमेद्वारी घोषणा कार्यक्रममा एनआरएनए बेलायतका पूर्व अध्यक्षहरु पनि थिए। बेलायतमा स्थापित व्यवसायी व्यवसायीका रुपमा रहेका वर्तमान कार्यसमितिका उपाध्यक्ष आचार्यले ९ बुँदे प्रतिबद्धता सहित आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

भूतपूर्व गोर्खा सैनिकहरुको बाक्लो बसोबास रहेको बेलायतको अल्डरशटस्थित एम्पायर हलमा घोषणा सभा मार्फत आचार्यले एनआरएन सीप विकास केन्द्र स्थापना गर्ने, नेपालको समृद्ध, नेपालमा लगानी, समान पेन्सन, भिजन २०२०, सडक सुरक्षा, पत्रकारीता पुरस्कार, दोस्रो पुस्ता लगायतका विषयमा आफुले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

पन्तलाई संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, संस्थापक सदस्य रामप्रताप थापा र वर्तमान अध्यक्ष भवन भट्टको साथ रहेको बुझिएको छ । उता, आचार्यलाई भने पूर्व अध्यक्षद्धय डा. शेष घले र देवमान हिराचनको समर्थन रहने बुझिएको छ । यसपटक घले आफ्नी पत्नी जमुना घलेलाई उम्मेद्धवारी बनाउने वा नबनाउने भन्नेबारे खुलेर लागेका छैनन् । उनको तयारी हेर्दा उनले यसपटक आचार्यलाई नै सघाउने बुझिएको छ । तर, यकिन छैन् ।

अध्यक्ष, पाँच जना उपाध्यक्ष, महासचिव, दुई जना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, पाँचजना क्षेत्रीय संयोजक तथा उपसंयोजक, महिला र युवा उपसंयोजक गरी २५ पदहरुमा निर्वाचन हुनेछ । लगानीमा संघको योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दीगो संगठन र एनआरएनमा व्यापक सहभागीता गराउने मुल मन्त्रका साथ आफूले उम्मेदवारी घोषणा गरेको पन्तले स्पष्ट पारेका छन् । पत्रकार सम्मेलनमा पन्तले आफ्नो प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्