Logo

गुरु नानक प्रतिक अंकित नेपाली सिक्काको संसारभर माग



काठमाडौं, १० असोज । शिख धर्मालम्बीहरुका गुरु नानक देवजीको ५५० औं जयन्तीका अवसरमा नेपाल राष्ट्र बैंकले ल्याएको स्मारक सिक्काको अग्रिम बुकिङ भइसकेको छ । विश्वभर छरिएर रहेका पञ्जाबी भनेर चिनिने शिख समुदाय नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले सिक्का ल्याएको खबरले खुशी मात्र भएका छैनन् अग्रिम बुकिङ गर्न थालेका छन् ।

नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले सिक्का लन्च गर्ने कार्यक्रममा भने, सबैभन्दा बढी अमेरिकाबाट माग भइसकेको छ । चिलीमा रहेका शिख समुदायले समेत सिक्काको माग गरेको खुलाए । विश्वभर रहेका शिख समुदाय नेपाल राष्ट्र बैंकले ल्याएको सिक्का पाउन आतुर रहेको उनको भनाई थियो ।

यसअघि ट्वीटमार्फत् राजदूत पुरीले गुरु नानक देवजीको स्मारक सिक्का लन्च हुनलागेको जानकारी गराएका थिए । यसप्रति विश्वभर रहेका शिख समुदायले उत्साहका साथ सिक्काको चाहना राखेका थिए ।

शुक्रबार नेपाल राष्ट्र बैंकले सिक्का जारी गर्ने कार्यक्रममा उत्साही बनेका राजदूत पुरीले नेपालसँग शिख समुदायको साइनोबारे उल्लेख गरेका थिए । उनले नेपालको विकासमा शिख समुदायको इतिहास देखि गुरु नानकको नेपाल बसाईंलगायतका विषयमा ऐतिहासिक तथ्य प्रस्तुत गरेका थिए । तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्