Logo

काँग्रेसको भावी सभापतिका लागि गच्छेदार निर्णायक



काठमाडौं, ११ असोज । नेपाली काँग्रेसमा विजयकुमार गच्छेदार निर्णायक शक्ति बन्ने अवस्था बनेको छ । फोरम लोकतान्त्रिकबाट काँग्रेस प्रवेश गरेका उनले शुरुमा उपसभापति पद पाए । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिले ११ केन्द्रीय सदस्य र छ सय महाधिवेशन प्रतिनिधि दिने निर्णय गर्यो ।

गच्छेदारका हजारौं कार्यकर्ताले काँग्रेसमा क्रियाशिल सदस्यता पाउने भएका छन् । यसले अबको काँग्रेस महाधिवेशनमा उनी निर्णायक शक्ति बन्ने अवस्था बनेको छ । अहिले सभापति शेरबहादुर देउवालाई साथ दिदै आएका कारण देउवा झन् बलियो बनेका छन् ।
पार्टीभित्र पकड कमजोर हुँदै गएको अवस्थामा गच्छेदारलाई देउवाले काँग्रेसभित्र भित्राएका थिए । अबको एक वर्षमा महाधिवेशन गर्दा गच्छेदारको सहयोगले देउवाले पुनः सभापतिमा निश्चित गर्ने अवस्था बनेको छ । यसैलाई मध्यनजर गरी गच्छेदालाई बलियो बनाएका छन् ।

काँग्रेसभित्र गच्छेदार पक्षको मतले देउवालाई भविष्यमा सहज हुने स्थिति बनेको छ । विगतमा काँग्रेसमा रहँदा पनि गच्छेदार बलियो थिए । उनी पाँच विकास क्षेत्रबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्येमा पर्दथे । कुनैबेला शेरबहादुर देउवा, रामचन्द्र पौडेल, खुमबहादुर खड्का निर्वाचित हुँदा गच्छेदार पनि परेका थिए ।

काँग्रेसभित्र प्रवेश गर्दा गच्छेदारलाई प्राप्त केन्द्रीय सदस्य संख्या र महाधिवेशन प्रतिनिधिले विगत भन्दा बलियो बनाएको छ । यसै पनि उनको काँग्रेसमा पुराना मित्रहरु छन् । उनले मधेश केन्द्रित दलहरुबाट मजबुत समूहलाई ल्याएका छन् । यसले पनि उनलाई काँग्रेसको आगामी महाधिवेशनमा निर्णायक शक्ति बनाइदिएको हो ।

नेपालको राजनीतिमा ३० वर्षयता महत्वपूर्ण पदहरुमा रहेका गच्छेदारले यस वर्ष गरेका विदेश भ्रमण महत्वपूर्ण रहे । उनी भारत र अमेरिकाको भ्रमणमा गएका थिए । यसलाई निकै अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्