Logo

यसकारण नेपाली बजारमा समान किन्दैनन् नेपालगञ्जका नागरिक



– भेषराज बस्नेत

नेपालगञ्ज ११ असोज । नेपालगञ्जका व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिया जाने गरेका छन् । सरकारी निकायको उदासिनता र व्यापारीको उपभोक्ता आकर्षण गर्ने प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपाली उपभोक्ताको आकर्षण बढ्न नसकेको उपभोक्ता हित संरक्षणमञ्च बाँकेका अध्यक्ष वसन्त गौतमको भनाई रहेको छ ।

“गुणस्तरीय वस्तु तथा सेवा उपयोग गर्न पाउनु उपभोक्ताको अधिकार हो, भारतीय व्यापारीको तुलनामा नेपालगञ्जका व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्नु र रुपैडियामा सस्तोमा पाइन्छ भन्ने भ्रम चिर्न नसक्नु कमजोरी हो”, अध्यक्ष उनले भने, “नेपालगञ्जका व्यापारीमा उपभोक्ता आकर्षण गर्ने व्यवहारिकता भन्दा पनि वस्तु तथा सेवा लाद्ने प्रवृति पनि हानिकारक छ ।”

चाडपर्व मात्र होइन, अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रुपैडियामै निर्भर रहने गरेका छन् । नेपालगञ्जमै सस्तो पाइने सामान किन्न समेत नेपाली उपभोक्ता भारतीय बजारमा जाने गरेका छन् । हिन्दूहरूको मुख्य पर्व दशैं शुरू भए पनि नेपालगञ्ज बजार सुनसान छ । तर, सीमा पारी भारतीय बजार रुपैडियामा दशैंँको किनमेल गर्न नेपाली उपभोक्ताको चहलपहल बढेको छ ।

घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खानेकुरा र लत्ताकपडा खरीदका लागि दैनिक सयौंको सङ्ख्यामा स्थानीयवासी सीमावर्ती बजारतिर जाने गरेका छन् । चाडवाडका समयमा कालोबजारी, चर्को महङ््गी, अनियन्त्रित मूल्य र गुणस्तरहीन उपभोग्य सामग्री बिक्री हुने क्रम निरन्तर बढेपछि उपभोक्ता सीमापारिका भारतीय बजारप्रति आकर्षित हुने गरेका छन् ।

“न मूल्यको ठेगान हुन्छ न उचित सामानको” सीमावर्ती बजारमा किनमेल गर्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१० का किशोर श्रेष्ठले भन्नुभयो, “नेपालगञ्जमा एउटै समानको पसलैपिच्छे फरकफरक मूल्य हुन्छ, सामान पनि गुणस्तरहीन हुने भएकाले सीमा क्षेत्रका बासिन्दा भारतीय बजारप्रति आकर्षित भएका हुन् ।”

चाडवाडका समयमा वर्षभरि बिक्री हुन नसकेका उपभोग्य वस्तु र लत्ताकपडा जसरी पनि बिक्री गर्ने व्यवसायीको क्रियाकलापले सीमापारिको रुपैडिया बजारमा नेपालीको घुइँचो लाग्नुको मुख्य कारण भएको उनको भनाइ छ ।

खासगरी चामल, तेल, चिनी, दाल, फलफूल, पेयपदार्थ, सौन्दर्यका सामाग्री र अन्य विभिन्न किसिमका पूजा सामग्रीसँगै घर सजाउने सामान खरीद गर्न नेपाली उपभोक्ता रुपैडिहा पुग्ने गर्दछन् ।



प्रतिक्रिया दिनुहोस्