Logo

विश्व मुटु दिवस-२०१९ : डा. सिलवालको नेतृत्वमा निःशुल्क मुटु शिविर तथा प्रभातफेरीको आयोजना



काठमाडौं, ११ असोज । भोलि सेप्टेम्बर २९ अर्थात् विश्व मुटु दिवस । विश्वभरि उक्त दिवसको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रम गरेर मनाईन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईँदै आईएको छ । नेश्नल हार्ट फाउण्डेशन नेपालले विश्व मुटु दिवस–२०१९ को अवसरमा गत बिहीबारदेखि विभिन्न कार्यक्रम गर्दै मनाईरहेको छ ।

उक्त दिवसको अवसरमा निःशुल्क मुटु परीक्षणदेखि अन्तरक्रियासमेत आयोजना गरिएको थियो । यसपटक आफूहरुले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेका गरि ५ सयभन्दा बढिको निःशुल्क मुटु परीक्षण गरिएको फोण्डेशनका अध्यक्ष डा. शिवजी विक्रम सिलवालले जानकारी दिए । तीमध्ये ७० जनालाई मुटुरोगको समस्या देखिएको उनको भनाई छ ।

यो वर्षको विश्व मुटु दिवसको अवसरमा नेश्नल हार्ट फाउण्डेशन र तनहुँ सेवा हस्पिटलको संयुक्त आयोजनामा तनहुँमा प्रभातफेरी निकालिएको थियो । तनहुँमै आयोजित अन्तरक्रियामा डा. सिलवालले मुटुरोगबाट बच्ने उपायबारे प्रकाश पारेका थिए ।

उनले धुम्रपान तथा मद्यपान नगर्नपनि सुझाएका थिए । सिलवालले मुटुरोगबाट बच्नको लागि नियमित व्यायाम गर्नपनि आग्रह गरेका थिए । उनले स्वस्थ खानपानमा बढि जोडदिनुपर्ने र सकेसम्म हरियो सागपात, फलफूल खानमा जोड दिनुपर्ने पनि हेल्थ टिप्स दिएका छन् ।

दशैं, तिहारलगायतका महत्वपूर्ण चाडपर्व नजिकिएकोले सकेसम्म चिल्लो र मसलेदार खाना नखानपनि उनको सुझाव छ । उनले भने,‘रातोमासु पनि एभ्योईड गर्नुपर्छ । चाडपर्व छ, ह्विस्कीहरु गिफ्टमा दिनुभन्दापनि फलफूल लिएर जाऔं । यसो गर्न सकियो भने धेरै राम्रो हुन्छ ।’

अन्तरक्रियामा डा. सिलवालले हृदयघात (हार्ट अट्याक) अहिले प्रायः युवा अवस्थामा पनि देखिन थालेकोले यसबारेमा देशव्यापी सचेतना फैलाउनुपर्नेमा जोड दिए । डा. सिलवालका अनुसार यस्ता खाले सचेतना कार्यक्रमहरुलाई आगामी दिनमा गाउँसम्म पुर्याउनुपर्नेछ ।

फाउण्डेशनले विगत लामो समयदेखि विश्व मुटु दिवसमा विविध कार्यक्रम गर्दै मनाउँदै आईरहेको छ । गत वर्ष फाउण्डेशनका अध्यक्ष एवम् बरिष्ठ मुटु रोग विशेषज्ञ डा. सिलवालको नेतृत्वमा वाकाथानको आयोजना गरिएको थियो । उक्त वाकाथान कुमारीपाटी, जावालाखेल, झम्सिखेल हुँदै कुपण्डोलस्थित् होटेल समिटमा आएर सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्