Logo

दुर्घटनाको खतरामा नेपाल कम्युनिष्ट पार्टी



समाचार विश्लेषण । कुनैबेला तत्कालिन राजा ज्ञानेन्द्र शाह सर्वशक्तिमान बने । देशको सबै निकायमा उनको एकछत्र राज चल्यो । राजनीतिक दलप्रति वितृष्णा बढेको मौका छोपेर उनले निषेधको राजनीति चलाउन थाले । भूराजनीतिक यथार्थलाई भुलेर कुटनीतिक क्षेत्रमा नयाँ कदम चाले ।

अहिले नेपाल कम्युनिष्ट पार्टी त्यसरी नै चल्न थालेको छ । उसले निषेधको राजनीतिलाई बढावा दिएको छ । आफूभन्दा भिन्न विचार राख्नेमाथि बहिष्कारको अभियान चलाएको छ । संसदमा दुई तिहाई भएकाले नेकपाका लागि संसदबाट कुनै चुनौती नभएको अवस्था छ । कमजोर प्रतिपक्ष बेला बेलामा चिच्याउँछ मात्र तर विवादास्पद विधयेकहरुबारे अध्ययन गरेर समेत बोल्दैन ।

कुटनीतिक सम्बन्धमा कम्पन आउने केही घटना नेकपा सरकारको पालामा भइसकेका छन् । भेनेजुएला प्रकरण, इन्डो प्यासिफिक, बीआरआई देखि चिनियाँ कम्युनिष्ट पार्टीको प्रशिक्षण राजधानीमा चलेका छन् । भेनेजुएला प्रकरणमा नेकपा अध्यक्ष प्रचण्डले अमेरिकालाई चुनौती दिए । इन्डो प्यासिफिकमा पनि प्रचण्ड पक्षधरले अमेरिकालाई चुनौती दिए । तर, प्रधाननमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र समेत रहेका परराष्ट्रमन्त्रीले इन्डो प्यासिफिकबारे अमेरिकी विदेशमन्त्री माइक पम्पिओसँग छलफल गरेको अमेरिकी सरकारको नेपाललाई इन्डो प्यासिफिकको महत्वपूर्ण केन्द्र हुनसक्ने विषय समावेश गरिएको विज्ञप्तिबाट बुझ्न सकिन्छ ।

उल्लेखित विषयभन्दा गम्भीर दुई विषयले नेपालमा कुटनीतिक जटिलता निम्त्याएको छ । जसमध्ये काश्मिर मामलामा नेपाली पक्षको मौनता र चिनियाँ कम्युनिष्ट पार्टीको सत्तारुढ नेकपासँगको संयुक्त प्रशिक्षण । काश्मिर मामलामा नेपालले भारतलाई समर्थन नगर्दा विरोधको जस्तै सन्देश गएको छ । यसप्रति भारतीय पक्षले घुमाउरो पाराले असन्तुष्टि जनाउँदै आएको छ । पाकिस्तानका लागि यो नै लाभको विषय बनेको छ । यतिसम्मकी नेपाल मामलाका जानकार एकजना भारतका सामरिक विषयका अध्ययनकर्ता निहार नायकले काठमाडौं आएर नेपालको कुटनीतिलाई पाकिस्तानले मेनुपुलेट गरिरहेको अभिव्यक्ति दिए । उनको भनाई भारत सरकारको आधिकारिक नभएपनि भारतका कार्यवाहक राजदूत अजय कुमार सँगै रहेको मञ्चमा उभिएर बोलेका थिए । यो आफैमा अर्थपूर्ण छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको प्रशिक्षणलाई नेपालमा चासो राख्ने अन्य शक्तिराष्ट्रले सामान्य रुपमा लिएका छैनन् । यसलगत्तै अमेरिकी राजदूत रेन्डी बेरीको सक्रियता बढेको छ । भारतीय राजदूत मञ्जिव सिंह पुरीले घुमाउरो शैलीमा काश्मिर मामलामा भारतले चालेको कदममा नेपाल सरकारको स्ट्यान्डप्रति असन्तुष्टि जनाइसकेका छन् । यसै हप्ता काश्मिरबारे आयोजित अन्र्तक्रियामा उनले काश्मिर सधै भारतको ररिहन्छ भन्नै जोस्सिएर बोले । उनले बोल्दै गर्दा पाकिस्तानी राजदूतावासले समेत यसबारे पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

पछिल्लो समय नेपालमा चीनको बढ्दो उपस्थिति विभिन्न कोणबाट भएको छ । छिमेकको चासो र सक्रियताले अर्को छिमेकलाई गम्भीर बनाइसकेको संकेतहरु देखिएका छन् । काठमाडौंमा बढ्दो राजनीतिक बहस यसैमा केन्द्रित हुनथालेको छ । कतिपयले तत्कालिन राजा ज्ञानेन्द्र शाहले चीनलाई दक्षिण एशियामा प्रवेश दिलाउने मैदान खोलिदिएको घटनाक्रमसँग जोडेर हेरेका छन् । चीनलाई क्षेत्रीय संगठनमा सहभागी गराउन तत्कालिन राजा ज्ञानेन्द्रले भूमिका खेलेका थिए । जुन घटना उनका लागि प्रत्युत्पादक बन्यो । नेपालमा विदेशी शक्तिको प्रतिष्पर्धा बढ्दा देश अर्को जटिल परिस्थितिको सामना गर्न पुग्यो ।

नेपालमा शक्तिराष्ट्रहरुको रणनीतिक स्वार्थले ल्याइएका कतिपय कार्यक्रमहरु नेपालका लागि लाभदायक छन् छैनन् भविष्यले देखाउला । तर, कुनैपनि बलिया देशले जे गर्छन् आफ्नो स्वार्थमा गर्छन् । नेपालमा स्वार्थको लडाईंको वातावरण नेकपा र उसको नेतृत्वको सरकारले बनाइरहेको घटनाक्रमले देखाउँदै लगेको छ । यो लडाईंका लागि मैदान निर्माण गर्नेका लागि प्रत्युपादक हुने विगत घटनाले पुष्टि गरेको छ । बलिया देशका लागि मैदान खुल्ला गरिदिएको मूल्य ज्ञानेन्द्रले शाहले चुकाए । देश दुर्घटनामा पर्यो र उम्कियो । अब फेरि देशलाई दुर्घटनातर्फ धकेलिदैछ । यसको मूल्य क कस्ले चुकाउनुपर्ने हो प्रतिक्षाको विषय बनेको छ । आखिर राजनीति सम्भावना नै सम्भावनाको खेल न हो । File Photo



प्रतिक्रिया दिनुहोस्