Logo

प्याजलाई दशैं लाग्यो, मंहगीयो भान्सा



काठमाडौं, १२ असोज । दसैं पर्वको मुखैमा प्याजको मूल्य आकासिएको छ। अधिकांश खानाका परिकारमा अत्यावश्यक प्याजको मूल्य एकाएक वृद्धि भएपछि माग घटेको छ।

भारतमा यस वर्ष प्याज उत्पादनमा आएको कमीले नेपालमा असर परेको हो। भारतमा ढिला गरी सुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्यवृद्धि भएको बताइएको छ।

‘वर्षाले भारतमा ठूलो मात्रामा प्याज खेती नष्ट भएको छ’ प्याज आयातकर्ता एवं अम्बे इन्टरनेसनलका सञ्चालक मोहन बनियाँले भने, ‘जसको असर मूल्यमा परेको छ। अहिले आयात भइरहेको प्याज पुरानो स्टक हो। ’

हाल भारतको नासिक, इन्दौरलगायत स्थानबाट स्टक गरिएको प्याज आयात भइरहेको छ। नयाँ प्याज तयार भएर आयात नभएसम्म मूल्यवृद्धि यथावत रहने सञ्चालक बनियाँको विश्लेषण छ। नयाँ प्याज नोबेम्भर÷डिस्मेबरसम्म तयार हुन्छ।

भदौदेखि प्याजको मूल्यवृद्धि हुन सुरु भएको थियो। प्याज व्यापारीका अनुसार साउनमा प्याजको थोक मूल्य प्रतिकिलो २५ रुपैयाँ थियो भने भदौमा ४० रुपैयाँ पुगेको थियो। असोजलगत्तै प्याजको मूल्य ह्वात्तै बढेर ९५ रुपैयाँ प्रतिकिलो पुगेको छ। तर, सर्वसाधारणको भान्सासम्म प्याज पुग्दा प्रतिकिलो एक सय २० देखि एक सय ३० रुपैयाँसम्म पुग्छ।



प्रतिक्रिया दिनुहोस्