Logo

सरकारको शुपथ मूल्य पसलमा झनै महंगो



काठमाण्डौ । सरकारले यस बर्षको दशैं, तिहार र छठको लागि भन्दै ‘सुपथ मूल्य पसल’ सञ्चालन गरेको छ । बढ्दो महंगी र कालोबजारीको मारमा परेका उभोक्तालाई राहत दिन यस्ता शुपथ मूल्य पसल खोलिएको सरकारको दाबी छ ।

सरकारी संस्थान र निजी क्षेत्रबाट यस्तो मूल्य, छुट सहितको पसल संचालनमा ल्याइएको दावी गरिएपनि खासै सहु्लियत भने उपभोक्ताले पाएका छैनन् । शुपथ मूल्य पसलमा नै कतिपय सामाग्रीहरु भने बजारको मूल्य भन्दा महंगोमा बेचिरहेको पाईएको छ ।

सुपथ मूल्य पसलमा सरकारी लगानीका साल्ट ट्रेडिङ, नेसनल ट्रेडिङ र खाद्य संस्थान जस्ता ब्यापारिक संस्था संलग्न छन् । सरकारले प्रत्येक बर्ष दशैं अगाडिदेखि सुरु गर्ने सुपथ मूल्य पसलको लागि यी संस्थाहरुलाई अनुदान स्वरुप लाखौं रकम दिने पनि गरेको छ ।

तर, सरकारले राज्यकोषबाट अनुदान दिएर पर्व विशेषको लागि चलेका ‘सुपथ मूल्य पसलमा नाफामुखी ब्यापारीहरुले चलाएका पसलको भन्दा महंगोमा सामान विक्री गरेका छन् । भाटभटेनी सुपरमार्केटले अहिले विषेश छुट भन्दै प्रतिकेजी ५९ रुपैयाँमा चिनी बिक्री गरिरहेको छ ।

तर, सरकारले संचालन गरेको सुपथ मूल्य पसलमा चिनीको मूल्य प्रतिकेजी ७६ रुपैयाँ तोकिएको छ । शुपथ मूल्य भनिएको पसलमै एकै किलो चिनी किन्दा समेत १७ रुपैया महगो पर्न आँउछ ।

यता अरु सामाग्री भने बजारकै मूल्य हाराहारीमा विक्री भईरहेको छ । बजारमा २० रुपैयाँ पर्ने नुन सुपथ मूल्य पसलमा १८ रुपैयाँमा पाइन्छ । मैदा तथा पिठोमा प्रतिकेजी ५ रुपैयाँ तथा विभिन्न ब्रान्डका चामलमा १० देखि २५ रुपैयाँसम्म छुट दिएको छ । सुपथ मूल्य पसलमा चिउरा तथा विभिन्न प्रकारका दाल तथा गेडागुडी पनि उपलब्ध छन् ।

सबै दाल तथा गेडागुडीमा बजारमाभन्दा एक दुई रुपैयाँ मात्र छुटमा उपलब्ध छन् । बढ्दो महंगीको समयमा संचालित सुपथ मूल्यका पसलको सेवामा बजारको भन्दा खासै धेरै अन्तर नपाएको उपभोक्ताको भनाई छ ।

यी पसल करिब २ महिनाका लागि संचालन हुने र घुम्ती मोबाईल सेवा पनि संचालन हुने जनाईएको छ । बजारमा भन्दा एक दुइ रुपैयाँ सस्तो पाईने भएपनि, यी पसल उपभोक्ता हितका पक्षमा केन्द्रित हुनु चाडपर्वमामात्र नभई सधैभरी सहुलियत मुल्यमा संञ्चालनमा ल्याउनुपर्ने उपभोक्ताको माग छ ।

संसारभर नाम चलेका ब्राण्ड, स्थापित सुपर मार्केट र सामान्य पसलले पनि बर्षभरीमा तोकिएका केही दिनमा ‘सेल’ अफर भन्दै सामान बिक्रिी गर्ने गरेका छन् । तर देशबासीहरुले मनाउने मुख्य–मुख्य पर्वका समयमा चलन चल्तीमै रहेका वस्तु र सेवामा विशेष छुट दिने सुपथ पसलमै सुपर माकेटको मूल्य भन्दा बढी भएपछि उपभोक्ताले कसरी राहत पाउलान् ?



प्रतिक्रिया दिनुहोस्