Logo

पशुपति मन्दिरको टुँडालबाट पानी चुहियो



काठमाडौं, १३ असोज । पशुपतिनाथ मन्दिरको पूर्वतिरको एउटा टुँडालबाट पानी चुहिएको छ । भुइँचालोले बाहिरी स्वरुप केही नभए पनि भित्र के भएको छ भनेर अध्ययन भएको छैन ।

पानी चुहिन थालेपछि जीर्ण भएको हुन सक्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ ।मन्दिरमा केही वर्षदेखि भित्री काठ कुहिँदै गएको शंका थियो । चाँदीले मोरिएको तोरणमा किला ठोक्दा नठोकिने समस्या थियो । त्यसलाई आधार मानेर भित्रका काठ मक्किएको अनुमान कोषले गरेको हो । पशुपतिनाथ गर्भगृह भएको मन्दिर हो ।

गर्भगृह भएको मन्दिरमा गोप्य तान्त्रिक पूजा हुन्छ । तान्त्रिक पूजा हुने मन्दिरमा सबैलाई प्रवेश दिइँदैन । परापूर्वकालदेखि नै पशुपतिमा गैरहिन्दु, केही जात विशेषलाई समेत प्रवेशमा बन्देज छ ।

हिन्दुले पनि गर्भगृहको पश्चिम ढोकाबाट दर्शन गर्न पाउँदैनन् । गर्भगृहबाहिरको भने पश्चिमढोकाबाट पनि दर्शन गर्न पाउने व्यवस्था छ । खड्ग निसानी र लालमोहरमै उल्लेख गरेर बन्देजको व्यवस्था गरिएको थियो ।

मन्दिरभित्र पुजारीहरुबाहेक अरु छिर्न नपाउने परम्परा रहेकोले यसको अवस्था अध्ययन गर्न समस्या भएको विकास कोष सांस्कृतिक महाशाखा प्रमुख प्रेमहरी ढुंगाना बताउँछन् । आजको कान्तिपुर दैनिकमा दामोदर न्यौपानेले समाचार लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्