Logo

उपत्यकामा रेबिजका रोगी बढ्दै



काठमाडौं, १३ असोज । उपत्यकामा रेबिजका रोगीको संख्या बढ्दै गएको छ । टेकुस्थित शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालमा दैनिक दुई सय जना कुकुरले टोकेर रेबिजविरुद्धको सुई लगाउन आउने गरेका छन् ।

दैनिक रुपमा दुई सयको संख्यामा रेबिजविरुद्धको सुई लगाउन आउनेको संख्याले पनि प्रस्ट हुन्छ । काठमाडौं उपत्यकामा धेरै मानिसलाई कुकुरले टोक्ने गरेको छ ।

कोही व्यक्ति भने लक्षण देखिसकेपछि उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । रेबिजविरुद्धको सुई लगाएमा रेबिजको कारण मानिसको मृत्यु नहुने तर कतिपय मानिसहरु कुकुरले टोकेको हो केही हुन्न भन्दै घरमा बस्नाले मृत्युको मुखमा पुग्ने गर्दछन् ।

अस्पतालका अनुसार सरुवा रोग अस्पतालमा मात्र वार्षिक ३० देखि ४० जनाको रेबिजका कारण मृत्यु हुने गरेको छ । सरकारले निःशुल्क उपलब्ध गराउने सुई लगाएमा रेबिज नलाग्ने र कुकुरले टोकेर सुई लगाउन नआउँदा कतिपयको मृत्यु हुने गरेको छ ।
नेपालभर रेबिजका कारण वार्षिक एक सय जनाको मृत्यु हुने गरेको र वार्षिक दुई लाख भन्दा बढी डोज “एन्टी रेबिज भ्याक्सिन” खपत हुने गरेको अस्पतालले जानकारी दिएको छ ।

सन् २०३० सम्म मानिसमा हुने रेबिजको मृत्युदर शुन्यमा ल्याउने अस्पतालको भनाइ रहेको छ । रेबिजविरुद्ध पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुई पास्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दे हरेका वर्ष रेबिज दिवस मनाउने गरिएको छ ।

रेबिज लागेका कुकुर, स्याल, बिरालो लगायत पशुको टोकाइबाट मानिस र अरु स्तनधारी प्राणीमा सर्ने रेबिज प्राणघातक रोग हो ।

रोगका जीवाणुहरु रोगी पशुको र्यालमा रहने भएकाले त्यस्ता पशुले टोक्दा घाउसँगै मानिसको शरीरमा प्रवेश गरी रोग उत्पन्न हुने गर्दछ । त्यसकारण रेबिजविरुद्ध व्यापक रुपमा जनचेतना जगाउनुपर्ने अस्पतालको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्