Logo

ड्राइभर दाईलाई सडकमै सम्मान



रिपोर्टर्स नेपाल, १३ असोज । ‘ड्राइभर दाई’ सडकमा सवारीसाधन चलाउनेहरुका बारे धेरै गीत बनेका छन् । तर, उनीहरुप्रति आमधारणा सकारात्मक बन्न सकिरहेको थिएन ।

पढ्न लेख्न नसकेपछि र कुनै अवसर नपाएपछि ड्राइभर बन्छ भन्ने मानसिकता बनेको थियो । सडकमा खटिनेहरुलाई हेर्ने दृष्टिकोण र व्यवहार नकारात्मक थियो । सार्वजनिक यातायात र सडकको सभ्यता कायम गर्नेहरुप्रतिको नकारात्मक व्यवहारले सडक र सार्वजनिक स्थानहरु सकारात्मक बनेको थिएन । तर, अब यसमा परिवर्तन ल्याउनुपर्छ भन्ने भावना जागृत भएको छ ।

सडक सभ्यताका लागि चालकको सम्मान गर्नुपर्ने सोच विकास गरे नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालले । उनकै अवधारणा अनुसार सडक सभ्यताका लागि चालकको सम्मान गर्ने र सचेतना कार्यक्रम संचालन गर्ने कदम चालियो । विगतमा ट्राफिक प्रहरी प्रमुख हुँदाको अनुभवका आधारमा सुधारका कार्यक्रम चाले ।

दशैंको समयमा चालकहरुको अनुशासनमा आउने समस्याले दुर्घटनाका घटना धेरै भए । यसपटक चाँडबाँडको समयमा कुनैपनि परिवार शोकमा डुब्न नपरोस् भनेर चालकबाट अनुशासन कायम गर्ने कदम शुरु भएको छ । दशैंमा लामो दूरीको सवारी साधन चलाउनेहरुलाई घटस्थापनाको विहानै टीका र माला लगाइदिए खनालले । आइजीपी खनालले काठमाडौंको नयाँ बसपार्कबाट शुरु गरेको अभियान देशभर थालियो ।

नेपाल प्रहरीका देशभरका जिल्लाका प्रहरी प्रमुखहरुले चालकलाई टीका र माला लगाइदिए । ठाउँ ठाउँमा सवारी साधन रोक्दै माला लगाइदिए । यसबाट चालकहरु पहिलोपटक सम्मानित भएको महशुश गर्न थालेको बुझिएको छ । तस्बिरहरुः मुकुन्द कालिकोटे र नेपाल प्रहरी



प्रतिक्रिया दिनुहोस्