Logo

लोकतन्त्र विरोधी सरकार कि नेकपा ?



काठमाण्डौ । नेपालको संविधानले आर्थिक समानता, समृद्धि र सामाजिक न्याय, समतामूलक समाज निर्माण गर्ने संकल्प लिएको छ । हिजोका दिनमा राजनीतिक दलहरुले परिवर्तनका लागि खेलेको भूमिकाले लोकतन्त्रका पर्यायवाची यिनै राजनीतिक दलहरु हुन् भन्ने थियो ।

तर पछिल्लो समय सरकारकै कारण लोकतन्त्रको खिल्ली उडेको टिप्पणी हुन थालेको छ । सत्तारुढ दल नेकपाका नेता कार्यकताहरु नै लोकतन्त्रविरोधी गतिविधिमा सक्रिय देखिन थालेका छन् ।

केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि लोकतान्त्रिक आचरण व्यवहारअनुसार विकास निर्माण, सुशासनका कुराहरुमा थिती बस्ला भन्ने अपेक्षा थियो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनअघि तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बाम गठबन्धन भएर चुनावमा होमिएका थिए ।

त्यसबेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले चुनाव जितेर सरकार बनायो भने त बोल्न र हाँस्न पनि पाइदैन भनेका थिए । त्यसबेला देउवाको अभिव्यक्ति धेरैलाई उचित लागेन ।

तर अहिले त्यसबेला देउवाले भनेजस्तै स्थिती सृजना हुन लागेको हो कि भन्ने चिन्ता बढेको छ । आइतबार सत्तारुढ दल नेकपाका कार्यकर्ताले तनहुँमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि दुव्र्यहार गरे ।

केही दिनअघि चितवनमा नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि नेकपाकै कार्यकर्ताले निर्घात कुटपित गरे । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानका क्रममा बाँकेमा पनि नेकपाकै कार्यकर्ताले कांग्रेस नेतामाथि हातपात गरे । यस्ता घटना कसरी भए त ?

प्रधानमन्त्री केपी ओलीले नै सरकारको विरोध गर्नेलाई अरिगांल बनेर आक्रमण गर्नु भनि निर्देशन दिएको एक वर्ष वितेको छ । नेकपाकै अध्यक्ष पुष्पकमल दाहालले नेता कार्यकर्तालाई विरोधीको प्रतिवाद गर्न सल्लाह दिदै आएका छन् ।

नेताहरुको निर्देशन र कार्यकर्ताको व्यवहारमा मेल खाए जस्तो देखिन्छ । यो शैली लोकतन्त्रविरोधी हो भनेर टिप्पणी गर्न थालिएको छ ।

नेपाल मानवअधिकार संगठनका अध्यक्ष ईन्द्र रिजालले सामाजिक फासिवादी चरित्रको रुपमा व्याख्या गर्छन् । लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता अनिवार्य मानिन्छ ।

तर अहिलेको सरकार र सत्तारुढ दल नेकपा आफ्नो आलोचना र विरोध स्वीकार गर्न नचाहेको जस्तो देखिन्छ । सामाजिक संजालमा भएको विरोधले समेत सरकार आत्तिएको जस्तो देखिन्छ ।

संचारमाध्यमका आएका सरकारका कमीकमजोरीसम्बन्धी समाचार पनि सरकारलाई मन परेको छैन । यस्तो प्रवृत्तिले लोकतान्त्रिक गणतन्त्रको अनुभूति कसरी गराउँछ ? सरकार आत्मकेन्द्रित मनोदशाबाट पछि हटेर आत्मरतिमा रमाउने प्रयासबाट पछि हट्नु पर्छ कि ?



प्रतिक्रिया दिनुहोस्