Logo

कस्तो हो सी चिन फिङलाई नेपालमा दिने ‘जेड’ तहको सुरक्षा



काठमाडौ, १४ असोज । चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपाल भ्रमणमा आउने पक्का भएसँगै सरकारले उनको सुरक्षाका लागि आवश्यक तयारी थालेको छ।

प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय उनलाई ‘जेड’ तहको सुरक्षा दिने तयारीमा जुटेको जनाइएको छ। अति विशिष्ट व्यक्तिलाई प्रदान गरिने सुरक्षालाई ‘जेड’ तहको सुरक्षा भनिन्छ।

‘विश्वमा सबै मुलुकले अति विशिष्ट व्यक्तिका लागि जेड तहको सुरक्षा व्यवस्था अपनाउँछन्। त्यसका लागि सेना नै प्रत्यक्ष रूपमा सहभागी हुने गर्छ,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘राष्ट्रपति फिङको सुरक्षामा नेपाली सेनाले नेतृत्व गर्नेछ र उसले नै अन्य सुरक्षा निकायसँग समन्वय गर्नेछ।’

मन्त्रालय स्रोतका अनुसार अक्टुबर ११ देखि १४ सम्म जुनसुकै दिन राष्ट्रपति फिङको भ्रमण हुन सक्ने भन्दै सरकारले तयारी थाल्न र विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो।

‘अक्टुबर १२ मै भ्रमण हुन सक्छ,’ मन्त्रालय स्रोतले भन्यो। परराष्ट्र मन्त्रालयले मंगलबारको मन्त्रिपरिषद् बैठकमा भ्रमण मिति तय भएको जानकारी गराएको स्रोतको भनाइ छ। बैठकमा भ्रमणबारे भएको छलफललाई तत्काल गोप्य राख्ने भन्दै भ्रमणको मिति बाहिर ल्याइएको छैन।

गृह मन्त्रालयले एक सातादेखि चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर सबै सुरक्षा अंगका अधिकारीहरूसँग निरन्तर छलफल गरिरहेको छ। यसै सन्दर्भमा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले तीनपटक गृहमन्त्रीसँग भेटघाट गरेकी छन्।

अति विशिष्ट सुरक्षा कार्यविधि, २०७० मा पनि अति विशिष्ट पाहुना नेपाल भ्रमणमा रहँदासम्म नेपाली सेनाले नै सुरक्षाको नेतृत्व गर्ने उल्लेख छ।

उक्त कार्यविधिअनुसार नेपाली सेनाले नै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गरेर सुरक्षा कार्ययोजना बनाइरहेको जनाइएको छ।

गृह मन्त्रालयले एक सातादेखि चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर सबै सुरक्षा अंगका अधिकारीसँग निरन्तर छलफल गरिरहेको छ।

सोही भ्रमणबारे नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले तीनपटक गृहमन्त्रीसँग भेटघाट गरेकी छन्। उनले नेपालको सुरक्षा अवस्था र सरकारका तर्फबाट गरिने सुरक्षा व्यवस्थाबारे जानकारी लिएकी थिइन्।

मन्त्रालय स्रोतका अनुसार सुरक्षाको नेतृत्व गर्ने जिम्मा पाएको नेपाली सेनाले सबै सुरक्षा अंगसँग समन्वय गरिरहेको आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्