Logo

लगानी सम्भाव्यताको खोजीमा सिद्धार्थनगर



रुपन्देहीको सिद्धार्थ नगरपालिकाले लगानी सम्भाव्यता पहिचान गर्न विभिन्न क्षेत्रसंग छलफल थालेको छ । नगरपालिका र जर्मन सरकारको सहयोगमा सञ्चालित जिआइजेडले संयुक्तरुपमा लगानीका सम्भाव्यता खोजी सामूहिक छलफल गर्न थालेका हुन् ।

जिआइजेडले नगरभित्र सम्भाव्यता खोजी गर्न प्राविधिक सहयोग गर्ने छ । यसअघि नगरपालिकामा एडिबीको ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना सञ्चालित छ । सम्भाव्यता पहिचानका लागि पहिलो चरणमा नगरक्षेत्रका अगुवासँग छलफल गरिएको छ ।

भैरहवा क्षेत्रमा समूहगत रुपमा छलफल गरी कृषि, पर्यटन, उद्योग–व्यवसाय, रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सुझाव सङ्कलन गरिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए । छलफलमा आएका सुझावलाई एकीकृत गरी दीर्घकालीन लगानीको क्षेत्र पहिचान गरिने नगरपालिकाले जनाएको छ ।

समूहगत छलफलमा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपाने र प्रा डा गितु गिरीको समूहले नगरभित्र रहेका विभिन्न मठमन्दिर, विहार, गुम्बा, मस्जिद तथा चर्चको विकास र सम्वद्र्धन गर्नुपर्ने, पार्क निर्माण, सिद्धार्थ रङ्गशालालाई समयमै सम्पन्न गरी खेल पर्यटन विकास गर्नुपर्ने, शैक्षिक क्षेत्रको विकास गर्नुपर्ने, मुख्य सडकका घरमा अनिवार्य बुद्ध रङ लगाउनु पर्ने, पर्यटनमैत्री नीति बनाउनुपर्ने, कोशेली घर निर्माण, विभिन्न ठाउँमा फ्रि वाइफाइ जोन, बुद्ध जीवनीमा आचारित फोटा प्रदर्शनी, सडक यातायातको विकास, पर्यटक प्रवेश नाका बेलहियामा लुम्बिनीसँग सम्बन्धित डकुमेन्ट्री बनाई कम्तीमा १५ मिनेट पर्यटकलाई देखाएर मात्रै गन्तव्यमा पठाउने वातावरण सिर्जना गर्ने, थान्का प्रदर्शनी, होटल तथा विभिन्न ठाउँमा बुद्ध ध्वनि अनिवार्य गर्नुपर्ने, डण्डा कोरिडोर निर्माण थालनी गर्नुपर्ने सुझाव दिएक छ ।

यस्तै, उद्योग व्यापार सङ्गठन रुपन्देही अध्यक्ष नारायणप्रसाद भण्डारी र प्रा डा कपिलदेव लामिछाने, शिक्षाविद् बालकृष्ण भट्टराई नेतृत्वको समूहले औद्योगिक क्षेत्रको पहिचान गर्नुपर्ने, कृषि फार्म, अग्र्यानिक खेती, पूर्वाधार विकास, पर्यटन विकास, साना तथा लघु उद्योगको प्रवद्र्धन गरेमा रोजगारी सिर्जना गर्न सकिने सुझाव दिएको छ ।

डा शम्भुकुमार गुप्ता नेतृत्वको समूहले आर्थिक विकासका लागि होटल सञ्चालनको वातावरण निर्माण गर्नुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने, मनोरञ्जनस्थलको विकास गर्नुपर्ने, निर्यातमूलक उद्योग स्थापना र प्रोत्साहनमा जोड दिनुपर्ने, स्वास्थ्य र शिक्षालाई पर्यटन उद्योगसँग जोड्नुपर्ने, मुख्य शहरी क्षेत्रमा खुलास्थानको पहिचान गर्नुपर्ने, भित्री सडक फराकिला बनाई थप कालोपत्रे गर्नुपर्नेलगायतका सुझाव दिएको छ ।

यस्तै पक्लिहवा कृषि क्याम्पसका सह–प्राध्यापक जन्मजय गैरे र भरतकुमार पोखरेल नेतृत्वको समूहले कृषि क्षेत्रको विकासका लागि भूउपयोग नीति लागू गर्नुपर्ने, जमिनलाई सहकारी माध्यमबाट एकीकृत गरी सञ्चालन गर्नुपर्ने, लगानीकर्तालाई सहजरुपमा जमीन उपलब्ध गराउने वातावरण सिर्जना गर्नुपर्ने, सहकारी, टोलविकास समिति, महिला समूह, कृषक समूहमार्फत करेसाबारीमा ताजा तरकारी उत्पादनका लागि तालिम प्रदान गर्नुपर्ने, बीउबिजन उपलब्ध गराउनु पर्ने, नगरका पहिचानयुक्त क्षेत्रको विकास र प्रचारका लागि बेला बखत महोत्सव गर्नुपर्ने, दुग्ध उत्पादन सहकारी स्थापना गर्नुपर्ने, कृषिउपज केन्द्र स्थापना, कृषि क्षेत्रको अनुसन्धानका लागि नगरले छुट्टै अनुसन्धान केन्द्र स्थापना गर्नुपर्नेलगायतका सुझाव दिएका छन् । नगर उपप्रमुख उमा काफ्लेले आएका सुझावलाई समेटेर नगर विकासको मुख्य आधार तयार गरी लगानीकर्तालाई आह्वान गर्ने बताए । रासस



प्रतिक्रिया दिनुहोस्