Logo

नेकपा र सरकारलाई एकपछि अर्को झड्का



काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र सत्तारुढ दल नेकपाको विरोध गर्ने बहानाहरु पाइरहेको छ । कहिले गुठी विधेयक त कहिले संसदमा सभामुख र सरकारको गलत नियत । कहिले कांग्रेस नेता कार्यकर्ता नेतामाथि नेकपा कार्यकतोको आक्रमण ।

जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप खेपिरहेको सरकारमाथि कांग्रेस नेताहरुले निरन्तर आलोचा गरिरहेका छन् । पछिल्लो समय त सरकार र सत्तारुढ दल थप विवाद र आलोचनाको सिकार हुँदै गएको छ ।

प्रमुख प्रतिपक्ष दलको धर्म नै सरकारको आलोचना गर्नु हो भनिन्छ । त्यसो त राम्रा कुराको समर्थन गर्दै सहयोग गर्नु पनि प्रतिपक्षीको धर्म हो । नेपाली कांग्रेस त झन संसदीय अभ्यासलाई सर्वोपरी ठान्ने दल ।

त्यसैले पनि संसदमा होस वा सार्वजनिक स्थलमा, कांग्रेस नेताहरु सरकारको विरोध गर्न पछि पर्दैनन् । पछिल्लो समय सत्तारुढ दल नेकपाका कार्यकर्ताको उग्र रुप आलोचना गर्ने बहाना बनेको छ ।

सत्तारुढ दलबाटै चुनाव जितेर सभामुख बन्नुभएका कृष्णबहादुर महरामाथि लागेको आरोपले त झन कांग्रेस रुष्ट बनेको छ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यबहारको आरोपबारे छानबिन गर्न माग गरे ।

नेता गगन थापाले पनि सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहारको आरोपको घटना सामसुम पार्न नहुने बताएका छन् । यो घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र सभामुख दोषी ठहरिए आम नागरिकसरह सजायँ पाउनुपर्ने थापाको भनाई छ ।

काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले भय र त्रासको राज स्थापना गर्न खोजिरहेको आरोप लगाएका छन् । तनहुँमा आफूमाथि ढुंगामुढा गरेबाट वर्तमान सरकारले मुलुकमा भय र त्रासको राज स्थापना गर्न खोजिरहेको पुष्टि भएको दावी समेत गरे ।

सरोकारवाला निकायहरुसँग छलफल नगरी विभिन्न विधेयकहरु संसदमा लैजान खोज्नु, ऐन कानुन बनाएर सामाजिक संजाल र संचारमाध्यमलाई कडाई गर्न खोज्नु जस्ता विषयले सरकार विवादमा पर्दै आएको छ ।

सरकार र नेकपाको विरोध गर्नेहरुमाथि नेकपाका कार्यकर्ता भौतिक कारबाहीमै उत्रिनु जस्ता घटना भइरहेका छन् । यससम्बन्धमा सरकार र सत्तारुढ दल नेकपा गम्भीर बन्नु आवश्यक देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्