Logo

महराको नैतिकता ! संसदमा अब के हुन्छ ?



काठमाण्डौ । पदीय मर्यादा विर्सेपछि कसको के लाग्छ र ? त्यो पनि महिला हिंसा । अझ भनौँ बलात्कारकै प्रयास । त्यो पनि प्रतिनिधिसभाका सभामुखले । हो यस्तै फन्दामा पर्नुभयो सभामुख कृष्णबहादुर महरा ।

एक महिलाले आफूमाथि सभामुख महराले जबरजस्ती करणी गरेको आरोप लगाएपछि नैतिकताको आधारमा भन्दै राजिनामा दिए । आफूमाथि लागेका आरोपको निष्पक्ष छानवीन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ सभामुख महराले संवैधानिक व्यवस्था अनुसारनै पदबाट राजीनामा दिएका हुन् । संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले यस सम्बन्धमा औपचारिक जानकारी दिएका छन् ।

सभामुख कृष्णबहादुर महराले राजीनामा पत्रमा ‘छानविन नसकिँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका छन् । राजीनामा पत्रको भाषा अलि अनौठो छ ।

महराले छानविन नसकिदासम्मका लागि राजिनामा दिएको उल्लेख गरेका छन् । तर राजिनामा दिइसकेपछि अब छानविन सकिए पनि उनी सभामुख भइहाल्ने भन्ने हुँदैन । अर्थात संविधान र कानुनअनुसार यस्तो भाषाको महत्व हुँदैन ।

राजीनामा दिएपछि त्यो स्वीकृत वा अस्वीकृत गर्ने प्रक्रियामा जानु पर्दैन । अब अर्को सभामुख चयन गर्नुपर्छ । राजीनामा ससर्त नहुने अवस्थामा पनि सभामुख महराको राजिनामा पत्रमा छानविन नसकिदासम्मका लागि भनेर शर्त राखे जस्तो देखिन्छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले सभामुखको राजीनामा कार्यबाहक दिए जस्तो भएको टिप्पणी गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कृष्णबहादुर महराले सभामुखबाट दिएको राजीनामा अपुरो भएको बताएका हुन् ।

सभामुखले राजीनामा दिएको औपचारिक जानकारी संसदमा गराउनुपर्छ । अहिले संसदको अधिवेशन चलेको छैन । नयाँ अधिवेशन सुरुभएपछि राजीनामा पत्रबारे जानकारी गराउनुपर्ने हुन्छ ।

त्यसपछि सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउनुपर्छ । नयाँ सभामुख चयन नहुँदा सम्म सभामुखले गर्दै आएको काम स्वतः उपसभामुखले गर्नेछिन् । सभामुखको अनुपस्थितिमा गर्ने काम उपभामुखले गर्ने संविधानमा प्रावधान छ ।

महराको राजीनामापछि अब संघीय संसदमा सभामुख र उपसभामुख फरक दलको हुने संविधानको प्रावधानको कार्यान्वयन गर्नकालाई बाटो खुलेको छ । अब हुने निर्वाचनमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुने गरी निर्वाचन प्रक्रिया अघि बढाउनुपर्छ ।

त्यसैले सभामुख र उपसभामुख मध्ये एउटा पद अब सत्तारुढ नेकपा भन्दा अर्को दलको भागमा पुग्नेछ । संविधानको धारा ९१ मा सभामुख र उपसभामुख फरक दलको हुने प्रावधान छ ।

तर सभामुख र उपसभामुखको निर्वाचनपछि पार्टी एकता भएकाले अहिले एउटै दलको भन्ने प्रवधान यसमा आकर्षित नहुने तर्क नेकपाले गरेको थियो । यही विषयको विवाद सर्वोच्च अदालतमा विचारधीन छ । अब भने यो विवाद पनि सुल्झाउने मौका दलहरुलाई मिलेको छ ।



प्रतिक्रिया दिनुहोस्