Logo

नारायणकाजीले भने : नेताहरुको महत्वविहीन भनाइलाइ समाचार नबनाउनुहोस



काठमाडौं, १४ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेताहरुको महत्वविहीन भनाइलाई भन्दा पनि जनताका वास्तविक मुद्दाहरुलाई समाचार बनाउन पत्रकारहरुसँग अनुरोध गरेका छन् । उनले नेपाली पत्रकारिता क्षेत्रले राष्ट्रिय एकताका लागि कलम चलाउनु पर्ने बताएका हुन् ।

मंगलबार हेटौँडा पुगेका नेता श्रेष्ठले स्थानीय पत्रकारहरुसँगको भेटघाटका अवसरमा बहुजाति, बहुभाषी नेपाली समाजलाई समृद्ध बनाउन सञ्चार जगत्को योगदान रहनुपर्ने धारणा राखेका हुन् । प्रवक्ता श्रेष्ठले सरकारको कमीकमजोरीहरु देखाउने, खबरदारी गर्ने तथा कतिपय अवस्थामा उजागरसमेत गर्ने काम पत्रकारहरुको भएको उल्लेख गरे ।

नेता श्रेष्ठले नेपाली प्रेसले देशको व्यवस्था परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै सूचना प्रविधिको प्रयोग गरेर जनतालाई सुसूचित गर्दै समाजको सकारात्मक परिवर्तनमा योगदान दिन अनुरोध गरे ।

देशमा जनताको आवश्यकताअनुसारको राजनीतिक परिवर्तन भएको र देशले राजनीतिक निकास प्राप्त गरेको बताउँदै नेता श्रेष्ठले राजनीतिक परिवर्तनको उपलब्धिलाई संरक्षण गर्दै आर्थिक समृद्धिको यात्रामा लैजान सञ्चार क्षेत्रले भूमिका खेल्नुपर्ने धारणा राखे ।

पत्रपत्रिकाले राजनीतिक विषयवस्तुलाई मात्र समाचारको रुपमा प्रस्तुत नगरेर नेपालको कृषि, उद्योग, पर्यटन, खेल, कलाजस्ता विषयवस्तुलाई समाचार बनाएर प्रकाशन तथा प्रसारण गर्नुपर्ने उनको धारणा थियो । उनले विज्ञान र प्रविधिको विकासलाई सदुपयोग गरी सञ्चार क्षेत्रले आम नागरिकलाई सुसूचित गर्नुपर्ने धारणा राखेका हुन् ।



प्रतिक्रिया दिनुहोस्