Logo

महरा-रोशनी प्रकरणमा प्रहरीले कसरी छानविन गर्ला ?



समाचार विश्लेषण । नेपाल प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि रोशनी शाहीले लगाएको जर्बजस्तीको आरोपमा आफ्नै ढंगले छानविन गरिरहेको छ । घटनास्थलको सुरक्षा र कल डिटेलहरुको समेत छानविन अगाडि बढाएको छ ।

घटनाबारे अनुसन्धान गर्न आइजीपी सर्वेन्द्र खनाललाई गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिएपछि प्रहरी निर्धक्कसँग लागेको छ । तीनकुनेस्थित रोशनी शाहीको डेरामा आइतबार साँझ भएको घटनाबारे प्रमाणहरु संकलन भइरहेका छन् । यसबाहेक रोशनी र महराबीचको चिनजान र के कस्तो सम्बन्ध छ भन्नेबारे खोजी अगाडि बढेको छ ।

प्रहरीले आफ्नै ढंगले अनुसन्धान अगाडि बढाएपनि पीडित भनिएकी रोशनी शाही किटानी जाहेरी दिन पुगेकी छैनन् । उनले आइतबार साँझ प्रहरीको हटलाइन नम्बरमा फोन गरी घटनाको जानकारी गराएको र प्रहरी पनि घटनास्थल पुगेको थियो । उनले त्यतिबेला पनि जाहेरी नदिई मिडियामा पुगिन् । मिडियामा उनी सोमबार जुन तरिकाले प्रस्तुत भइन् मंगलबार ठिक उल्टो तरिकाले प्रस्तुत भइन् ।

घटनामा आक्रोश र भावनाका अलावा प्रभाव समेत जोडिएर आएको देखिदैछ । अब प्रहरीका सामु घटनाको अनुसन्धान नगरी सुख छैन । रोशनीले आफूलाई मानसिक रोगी भनेकी छिन् । यसबारे समेत अनुसन्धान बढ्नसक्छ । उनी के कारणले जुन घटना बाहिर ल्याउन पुगिन् त्यसलाई काट्दै फरक ढंगले प्रस्तुत भइन् ? अनुसन्धानको विषय बनेको छ ।

घटना थामथुम हुननसक्ने अवस्था बनिसकेको छ । यसमा राजनीतिक दबाब र चर्चा मिसिएको छ । यस अवस्थामा घटनाको निष्पक्ष छानविन अगाडि बढ्नसक्छ ।
जर्बजस्ती प्रकरणमा पीडितहरु प्रभावित हुनेगरेका छन् । कतिपय अवस्थामा नक्कली पीडित पनि बन्न सक्छन् । यसकारण प्रहरीका सामु महरा रोशनी प्रकरण चुनौतीपूर्ण बनेको छ ।

घटनामा मुख्य पात्र बनेका कृष्णबहादुर महरा र रोशनी शाहीमाथि बयान हुनसक्छ । रोशनी घरी घरी बयान फेर्दै हिंडेकाले पक्राउ पर्न सक्छिन् । घटनामा उनको भूमिका विवादास्पद देखिएकाले कारबाहीमा पर्न सक्ने सम्भावना समेत छ ।



प्रतिक्रिया दिनुहोस्