Logo

महराविरुद्ध ती महिलाले किन उजुरी दिईनन् ? प्रहरी भन्छ : ताकेता गर्दा पनि लिखित उजुरी आएन



काठमाडौं, १४ असोज । नेपाल प्रहरीले सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि दुव्र्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई पटकपटक ताकेता गर्दा पनि अहिलेसम्म लिखित उजुरी दिन नआएको जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले लिखित उजुरी नपरेकाले मौखिक उजुरीकै आधारमा प्रारम्भिक अनुसन्धान भने चलिरहेको जानकारी दिए । उनले भने,“लिखित जाहेरीका लागि प्रहरीले ताकेता ग¥यो, अहिलेसम्म आएको छैन तर जानकारी आउनेबित्तिकै प्रहरीले आइतबार रातिदेखि नै अनुसन्धान गरिरहेको छ”,

उनकाअनुसार आइतबार राति ९ः०५ बजे प्रहरीको नियन्त्रण कक्षमा रहेको १०० नम्बरमा फोनमार्फत मौखिक जानकारी प्राप्त भएको थियो । सोही जानकारीका आधारमा रातिदेखि नै घटनाबारे अनुसन्धान भइरहेको र घटनामा जोडिएका सबै वस्तु सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीले प्रारम्भिक अनुसन्धान भइरहे पनि लिखित उजुरी नआएसम्म अन्य प्रक्रिया अगाडि बढ्न समस्या हुने बताए । सोमबार विभिन्न सञ्चारमाध्यममा महराले आफ्नो कोठामै आएर दुव्र्यवहार गरेको जनाउँदै ती महिलाको नाम जोडेर समाचार प्रकाशन भएको थियो ।

दुव्र्यवहार गरिएको आरोप लगाउने ती महिला कर्मचारीले आज भने आफैँले घटनाको खण्डन गर्दै आफूले डिप्रेसनको औषधि खाइरहेको र आवेगमा के बोलेँ आफूलाई नै पत्तो नभएको भनी बताएकी छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले रिसको झोँकमा सभामुख महरा परेको उल्लेख गरेकी छन् । राससमा प्राप्त अडियोमा उनले आफ्ना बाबु समानको मान्छेसँगको सम्बन्धलाई अनावश्यक रुपमा जोडेको र उचालेको जिकिर गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot