Logo

सभामुखको ‘उधारो’ राजीनामा, नेकपालाई अप्ठ्यारो



काठमाडौं १५ भदौ ।
महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । तर, उपसभामुखलाई दिइएको राजीनामामा लेखेका छन्, ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि ।’ यसलाई संविधान र कानुनविदहरूले हास्यास्पद मानेका छन् ।

संसद् सचिवालयको स्वास्थ्य एकाइमा कार्यरत महिला कर्मचारीले आफूमाथि महराले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । सत्तासीन नेकपा सचिवालय बैठकले उनलाई सभामुख र सांसद पदबाट राजीनामा दिन सुझाव दिएको थियो । तर, उनले सभामुख पदबाट मात्र राजीनामा दिएका छन् । त्यो पनि अवधि तोक्दै ।

‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु’, राजीनामा पत्रमा भनिएको छ । महराले आफूमाथि निराधार र गलत आरोप लगाएको दाबी गर्दै आएका थिए । तर उनीमाथि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राजीनामा दिएर छानबिनमा सहयोग पु¥याउन दबाब परेको थियो ।

महिला कर्मचारीले आफूमाथि महराले दुव्र्यवहार गरेको आरोप सार्वजनिक गरेसँगै सत्तासीन नेकपामा हल्लीखल्ली मच्चिएको थियो । सोमबार रातिदेखि नै नेता–नेताबीच टेलिफोनमा कुराकानी भएका थिए । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई छलफलका लागि बिहानै बालुवाटार बोलाएका थिए ।

नेम्वाङले ‘गम्भीर कुरा उठेकाले पार्टीको पोजिसिन’ स्पष्ट गर्नुपर्ने सुझाव अध्यक्षद्वयलाई दिएका थिए । प्रधानमन्त्री ओलीले महरासँग फोनमा कुराकानी गरेका थिए । महराले आफू निर्दोष रहेको भन्दै आरोप लगाउने महिलाको कोठामा नगएको दाबी गरेका थिए । तर सञ्चारमाध्यममा प्रसारित महिलाको भिडियो हेरिसकेका ओलीले महरालाई उल्टै हपारेका थिए । ‘सबै कुराले तपाईं त्यहाँ गएको कुरा पुष्टि भइसक्यो,’ ओलीले महरालाई भनेका थिए ।

अध्यक्षद्वय, नेम्वाङ र महासचिव विष्णु पौडेलबीचको छलफलले महरालाई सभामुख र सांसद पदबाट राजीनामा गराउने निर्णय गरेको थियो । बिहान साढे ९ बजे छलफल सकिएलगत्तै ११ बजे पार्टी सचिवालय बैठकका लागि नेताहरूलाई खबर गरिएको थियो । बैठकले महरालाई दुवै पदबाट राजीनामा दिन सुझाव दिएको थियो ।

प्रचार विभाग प्रमुख तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले महराको नैतिक आचरणका सवालमा सञ्चारमाध्यमले उठाएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण गरेको भन्दै छानबिनका लागि राजीनामा दिन आग्रह गरेको बताए ।

‘सभामुख महराको नैतिक आचरणका सम्बन्धमा सञ्चारमाध्यममा आएको समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रवक्ता श्रेष्ठले अन्नपूर्णसँग भने, ‘छानबिन प्रक्रियामा सघाउन सभामुख पद र प्रतिनिधिसभा सदस्यबाट समेत राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको छ ।’

आरोप लगाउने महिलाले मंगलबार साँझ भने सामाजिक सञ्जालमार्फत् आफूकहाँ महरा नआएको, उनलाई आफूले बुवाको सम्मान दिने गरेको अभिव्यक्ति दिएकी थिइन् । २४ घण्टामै उनको भनाइ उल्टिएको हो ।

नेकपालाई अप्ठ्यारो

सभामुखले राजीनामा दिएपछि नयाँ सभामुखका लागि नयाँ प्रक्रिया प्रारम्भ गर्नुपर्ने हुन्छ । सत्तासीन नेकपाले सभामुख र उपसभामुख दुवै पद ओगटे पनि नयाँ प्रक्रियामा जाँदा ऊमाथि संवैधानिक प्रश्न उठ्ने देखिन्छ । पार्टी एकताअघि तत्कालीन माओवादी केन्द्रका तर्फबाट महरा सभामुख र तत्कालीन एमालेबाट शिवमाया तुम्बाहाम्फे उपसभामुख बनेका थिए । पार्टी एकतापछि एकै दलबाट सभामुख र उपसभामुख बनेको भन्दै विपक्षी कांग्रेसले एक पद छोड्न माग गर्दै आएको छ । राजनीतिक विवादसँगै त्यस विषयमा परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । नयाँ सभामुख चयन प्रक्रियामा नेकपाले सभामुख र उपसभामुखमध्ये एक पद छोड्नुपर्ने कांग्रेसका सांसदहरू बताउँछन् ।

सांसद पद के हुन्छ ?

पार्टी सचिवालयले सांसद पदबाट समेत राजीनामा दिन महरालाई निर्देशन दियो । तर उनले सांसद पद छोडेका छैनन् । नेकपाकै नेताहरु महरालाई अब पार्टीले सांसद रूपमा नचिन्ने तर्क गर्छन् । पार्टीले राजीनामा मागिसकेपछि महराले संसदीय दलको बैठकमा भाग लिन नपाउने उनीहरुको तर्क छ । महराले सांसद पदबाट राजीनामा नदिए नेकपाले उनलाई हटाउन सक्छ । दल त्याग ऐनअनुसार महरालाई सांसद पदबाट हटाएको जानकारी पार्टीले संसद् र निर्वाचन आयोगलाई गराउन सक्छ । महरालाई पार्टीले कारबाही गरेर सांसद् पदबाट हटाए उनले जितेको निर्वाचन क्षेत्र खाली हुन्छ र उपनिर्वाचन गराउनुपर्ने हुन्छ । अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्