Logo

माथिल्लो कर्णालीको काम चैतसम्ममा थालिने



काठमाडौं, १५ असोज। लामो समयदेखि उल्लेख्य काम हुन नसकेको माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी जीएमआरले बनाउने वा नबनाउने आशंका रहिरहँदा, जीएमआरले भने सो आयोजनाको निर्माण कार्य आगामी चैत सम्ममा थालिने बताएको छ ।

पाँच वर्षअघि नेपाल सरकारसँग पावर डेभलपमेन्ट एग्रीमेन्ट पीडीए भइसकेको यो आयोजनाबाट उत्पादित विद्युत्को बजारबारे अन्योल कायमै रहँदा यसको फाइनान्सियल क्लोज हुन सकेको छैन ।

यहीबीच गत महीना नेपाल आएका भारतका ऊर्जा राज्यमन्त्री आरके सिंहले माथिल्लो कर्णाली जीएमआरले नबनाए भारतकै अर्को निकायले बनाउने बताएपछि त्यसले छुट्टै तरंग ल्याएको थियो ।

तर, कम्पनीको भनाइलाई आधार मान्ने हो भने आयोजना उसैले बनाउनेछ । कम्पनीले इन्जिनीयरिङ, खरीद र निर्माण ईपीसी वा इन्जिनीयरिङ, खरीद, निर्माण र वित्तीय व्यवस्था ९ईपीसीएफ० मोडलमा आयोजना निर्माणका लागि विकल्प खुला राखेको छ ।

सम्पूर्ण भौतिक पूर्वाधार योजना, ढाँचा र इन्जिनीयरिङ, सिभिलका साथै हाइड्रोमेकानिकल काम ईपीसी १ र इलेक्ट्रोमेकानिकल काम ईपीसी २ को अलगअलग प्याकेजमा ठेक्का दिने योजना कम्पनीले बनाएको छ । दुवै कामका लागि प्राविधिक मोलमोलाई सकिएर आगामी पुस मध्य डिसेम्बर सम्ममा आर्थिक छलफल पनि टुंग्याउने तयारी रहेको आयोजना प्रमुख केके शर्माको भनाई रहेको छ ।

‘ईपीसी १ का लागि चाइना कचौपा, सिनो हाइड्रो साथै कोभेक र डीईसीको संयुक्त उपक्रम आर्थिक छलफलमा सहभागी हुनेछन् भने ईपीसी २ का लागि एन्ड्रिज, भोइथ हाइड्रो, जीई, बीएचईएल, चाइना कचौपा, सिनो हाइड्रो र डीईसी रहनेछन्,’ उनले भने, ‘उनीहरूसँगको आर्थिक छलफल डिसेम्बर, २०१९ भित्र सकी मार्च २०२० भित्र दुवै प्याकेजको ठेक्का दिइनेछ ।’

माथिल्लो कर्णालीको ९०० मेवामध्ये बंगलादेशले किन्ने ५०० मेवाको विद्युत्का लागि पूरै अवधि अमेरिकी डलरमा भुक्तानी हुने आयोजनाले जानकारी दिएको छ । उक्त परिमाणको विद्युत् खरीद÷विक्री सम्झौता पीपीए अन्तिम चरणमा रहेको छ ।

‘अप्रिल २०१७ देखी बंगलादेश पावर डेभलपमेन्ट बोर्ड बीपीडीबीसँग विद्युत् विक्रीको समझदारी भएयता विभिन्न तह र चरणमा छलफल भइरहेको छ,’ आयोजना प्रमुख शर्माले भने, ‘२५ वर्षका लागि हुने पीपीएमा पूरै अवधि अमेरिकी डलरमै भुक्तानी हुने तय भएको छ ।’

क्रेता र विक्रेता दुवै गैरनेपाली कम्पनी हुने भएकाले लगानी र भुक्तानीको समयको डलर विनिमय दरको उतार चढावले भने कुनै असर नपार्ने दुर्गा लामिछानेले आजको आर्थिक दैनिकमा खवर लेखेकी छन्



प्रतिक्रिया दिनुहोस्