Logo

यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले उजुरी दिन डराइन



काठमाडौं, १५ असोज । सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी महिलाले प्रहरीमा उजुरी दिन भने इन्कार गरेकी छन् ।

संघीय संसद् सचिवालयमा कार्यरत उनले आफूमाथि सभामुख महराले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै आइतबार राति प्रहरीमा मौखिक उजुरी दिएकी थिइन् । तर लिखित उजुरी दिन र स्वास्थ्य परीक्षण गराउन पटकपटक आग्रह गर्दा पनि उनले नमानेको प्रहरीले जनाएको छ ।

प्रहरीले मंगलबार दिनभर ती महिलासँग लिखित ‘किटानी जाहेरी’ ९उजुरी० र स्वास्थ्य परीक्षण गराउन भनेको थियो । पटकपटक बोलाउँदा पनि पीडित भनिएकी महिला र उनका श्रीमान् उजुरी दिन नआएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए ।

‘घटना छानबिनका लागि उजुरी दिनुहोस्, सत्यतथ्य बाहिर ल्याउँछौं भनेर दुर्व्यवहार भएको भनिएकी महिला र उनका श्रीमान्लाई बोलाएका थियौं तर आउनुभएन,’ उनले भने, ‘आउँछौं भनेर पर्खाउनुभयो । पछि मोबाइल नम्बर नै अफ गरेर बस्नुभयो ।’

पीडितबाट उजुरी परेको अवस्थामा प्रहरीले तत्काल अनुसन्धान गर्ने गरी घटनास्थलबाट तथ्य र प्रमाण संकलन गरिएको उनले बताए । ती महिलाको तीनकुनेस्थित कोठाबाट प्रहरीले फुटेको चस्मा, तन्ना, जुत्ताका लेसरतुना, अल्कोहलको बोतललगायत सामान लिएको छ ।

सभामुख महराको राजीनामापछि मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटी, महानगरीय अपराध महाशाखाका डीएसपी दुर्गा दाहाल र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी दुर्गा रेग्मीसहितको टोलीले घटनास्थल पुगेर प्रमाण संकलन गरेको थियो ।

त्यसअघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राईलगायतलाई घटनाको अनुसन्धानबारे ब्रिफिङ गरेका थिए ।

सभामुखमाथि आरोप लगाएर अनुसन्धानमा असहयोग गर्नुले घटना झनै शंकास्पद बनाएको अपराध अनुसन्धान विज्ञहरूले बताएका छन् ।आजको कान्तीपुरमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्