Logo

भण्डारणमा रहेको पेट्रोल आधा दिनलाई मात्र पुग्ने



रुपन्देही, १५ असोज । नेपाल आयल निगमले इन्धन भण्डारण क्षमता वृद्धि नगर्दा निगमको प्रदेश नं ५ रुपन्देही डिपोमा पेट्रोल भण्डारण क्षमता आधा दिनमा झरेको छ।

पेट्रोलको खपत बर्सेनि बढ्दै गए पनि रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ७ मा रहेको निगम डिपोको क्षमता विस्तार नहुँदा पेट्रोलियम भण्डारण क्षमता घटेर आधा दिनमा झरेको हो। पेट्रोलमात्र नभएर डिजेलको भण्डारण पनि तीन दिनलाई मात्र छ।

भण्डारणस्थल नहुँदा उक्त डिपोबाट पेट्रोल तथा डिजेलको बिक्री व्यवस्थापन गर्न हम्मे परेको निगमका अधिकारी बताउँछन्।

उक्त डिपोबाट दैनिक करिब तीन सय किलोलिटर पेट्रोल बिक्री हुने भए पनि भण्डारण क्षमता एक सय ४० किलोलिटरमात्र छ। पेट्रोल राख्न ७० किलोलिटरका दुई ट्यांक छन्। डिजेल भण्डारण क्षमता तीन हजार ४० किलोलिटर छ। त्यहाँ डिजेल दैनिक करिब ११ सय किलोलिटर बिक्री हुन्छ। यसले माग तीन दिनको माग पनि धान्दैन।

निगमका समग्र मुलुकभर पेट्रोल पाँच दिन, डिजेल आठ दिन र हवाई इन्धन १० दिनलाई स्टक राख्न सक्ने क्षमता भए पनि रुपन्देहीको अवस्था निकै थोरै छ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट ल्याएको पेट्रोल आफ्नो भण्डारण स्थलमा खन्याएर बिक्री गर्नुपर्ने भए पनि सिधै पम्पमा पठाउने गरेको छ। भण्डारण क्षमता निकै कम हुँदा पेट्रोलिय पदार्थ आपूर्तिको व्यवस्थापनमा हम्मे परेको निगमको ५ नम्बर प्रदेशका प्रमुख सुरज शाहले बताए।

‘पेट्रोल भण्डारण क्षमता आधा दिनलाई मात्र पुग्नेछ,’ शाहले भने, ‘एक दिनमात्र ढुवानी रोकियो भने पेट्रोल आपूर्तिमा समस्या आउँछ।’ डिजेलको भण्डारण करिब तीन दिनलाई मात्र पुग्ने भए पनि यसमा पनि कठिनाई छ। आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्