Logo

अरुणबाट मात्र तीन हजार मेगावाट भन्दा बढी विद्युत्



काठमाडौं, १५ असोज । विद्युत्का लागि उर्वर जिल्ला मानिएको सङ्खुवासभामा अरुण नदीबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ ।

अरुण नदीमा पाँचवटा जलविद्युत् आयोजना रहन सक्ने र त्यसबाट तीन हजार ३९५ मेगावाट विद्युत् उत्पादन हुने देखिएको हो ।

पाँचवटा ठूला आयोजनामध्ये अहिले नौ सय मेगावाटको अरुण तेस्रो निर्माणको क्रममा छ भने अन्य आयोजनाको अध्ययन भइसकेको छ ।

एक हजार ६१ मेगावाटको अपर अरुण, छ सय मेगावाटको लोवर अरुण, ४३४ मेगावाटको किमाथाङ्का अरुण र चार सय मेगावाटको अरुण ४ को अध्ययन भइसकेको विद्युत् विकास विभागले जनाएको छ ।

नेपालको पानी जनताको लगानी कार्यक्रम समावेश अपर अरुण भोटखोला गाउँपालिकाको चेपुवा र रुकुमाको बीचमा निर्माण हुने भनिएको छ ।

यस आयोजनाको सम्पूर्ण अध्ययन पूरा भइसकेको विद्युत् विकास विभागलाई उद्धृत गर्दै ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए ।

नेपाल र नेपालीको लगानीबाट सञ्चालन गरिने यो परियोजना केही वर्ष्भित्रै सुरु हुनेसमेत उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा ध्यान कुलुङले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्