Logo

सामुदायिक विद्यालयमा बस र छात्रावासको व्यवस्था गरिने



विराटनगर, १५ असोज (रासस) : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले तराईका सामुदायिक विद्यालयमा बस र पहाड तथा हिमाली क्षेत्रमा छात्रावासको व्यवस्था गरी विद्यालय एकीकरण गर्ने बताए ।

सामाजिक विकास मन्त्रालयद्वारा मङ्गलबार यहाँ आर्थिक वर्ष २०७५-७६ को वार्षिक प्रगति तथा चालू आर्थिक वर्षका कार्यहरुकोे प्रस्तुतीकरण कार्यक्रममा उनले विद्यार्थी कम हुने विद्यालयमा तीनदेखि चार हजारसम्मका छात्रछात्रालाई जम्मा गरी विद्यालय एकीकरण गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने जानकारी दिए ।

उहाँले मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा सर्पदंश उपचार सेवा विस्तार गरेको र सोही क्रममा विराटनगरको कोचाखालमा स्थापना गरिएको बताए । उनले विराटनगरको शहीद रङ्गशालामा रात्रिकालीन खेलका लागि स्थायीरूपमा ‘फ्लड लाइट’ राख्न ठेक्का प्रक्रिया लागेकाले आगामी फागुनभित्र सम्पन्न हुने जानकारी दिए ।

नोबेल अस्पतालद्वारा एम्बुलेन्स प्रदान

नोबेल शिक्षण अस्पतालले मोरङको इटहरामा निःशुल्क एम्बुलेन्स प्रदान गरेको छ । ज्येष्ठ नागरिक हकहित समाज रतुवामाई नगरपालिका–९ इटहरालाई रु ११ लाख मूल्य बराबरको एम्बुलेन्स मङ्गलबार प्रदान गरेको हो ।

अस्पतालका अध्यक्ष लोकनाथ न्यौपानेले संस्थाका अध्यक्ष भुवनसिंह राईलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे । नगर प्रमुख रविन राई र अस्पतालका अध्यक्ष न्यौपानेले संयुक्तरुपमा एम्बुलेन्स सेवाको उद्घाटन गरे । प्रमुख राईले एम्बुलेन्सका कारण अब रतुवामाई क्षेत्रका बिरामीलाई समयमै अस्पताल पुर्याउन सहज हुने बताए ।

अस्पतालका अध्यक्ष न्यौपानेले बिरामीको सेवालाई पहिलो प्राथमिकतामा राखेर सेवामूलक हिसाबले एम्बुलेन्स सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । समयमा बिरामीको उपचार नपाई मृत्यु नहोस् भन्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरिएको नोबेल अस्पताल सञ्चालक डा सुनिल शर्माले बताए । अस्पतालले यसअघि मोरङको पथरीशनिश्चरे र पाँचथरमा पनि निःशुल्क एम्बुलेन्स प्रदान गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्