Logo

महराजीमाथि योजनावद्ध षड्यन्त्र हुनसक्छ, महिलामाथि कारबाही हुनसक्छ-बिडारी



नेपालको कानुनी क्षेत्रमा निकै चिनिएका नाम हुन् रामनारायण बिडारी । खरो बोल्ने बिडारी राष्ट्रिय सभा सदस्य पनि छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग बिडारीले सनसनीपूर्ण खुलासाहरु गर्दै बलात्कारसँग जोडिएका कानुनी व्यवस्थाबारे बोलेका छन् । उनीसँगको विशेष कुराकानीः

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुराचारको आरोप लागेको छ नि के गर्ने ?
मैले समाचारमा सुनेको छु । अहिले समाचारकै भरमा कुनै धारणा बनाइहाल्नु हुँदैन । यो योजनाबद्ध षड्यन्त्र पनि हुन सक्छ । मेरो अन्दाजमा व्यक्ति सम्पर्कमा उहाँको स्वभाव र अवस्था हेर्दा त्यस्तो मान्छे होइन । मादकपदार्थ सेवनको कुरामा पनि शंका छ ।
एक नारीले उहाँलाई यौन दुराचारको आरोप लगाएको कुरा बाहिर आईसक्यो नि ?
हो, एक नारीले लगाउनुभएको छ । त्यो आरोप बाहिर आएको छ । त्यसको छानबिन होला ।
यसबारेमा सरकारले छानविन गर्नुपर्छ कि पर्दैन ?
ती आरोपका तथ्यहरु छन् भने गर्नुपर्छ । त्यस्तो छैन भने मान्छेलाई ह्या¥यास गर्नुहुँदैन । अहिले फसाउने सजिलो उपाय रहेछ । कोही मान्छेलाई केही गर्दा पनि बद्नाम गर्न सकिएन भने एउटा गिनीपिग तयार गरेर फ्याट्ट एउटा कुरा भन्दियो भने हौ हेर भनेर अरु उफ्रिने रहेछन् । त्यस्तो पनि हुन सक्छ । यसबारेमा चाहिंं मलाई राम्रो थाहा भएन ।
तर, संसद सचिवालयमा खण्डन भएको छ नि ?
ती नारी जसले यो कुरा भनेको छ । तिनीहरुमाथि कारबाही हुन्छ । अहिले हामीले कानुन कस्तो बनाएका छौं भने कसैलाई बद्नाम गराउने उद्देश्यले कसैले झुठा जाहेरी दिएमा वा नठहर्ने कुरामा उजुरी गरेमा उसलाई पनि कारबाही हुने कानुनी व्यवस्था हाम्रो फौजदारी संहितामा छ । त्यस कारण ती महिलालाई पनि कारबाही हुन सक्छ ।
चिनियाँ राष्ट्रपति आउँदै हुनुहुन्छ उहाँबाट नेपालले के अपेक्षा गर्ने ?
एउटा समृद्ध मुलुकको राष्ट्रपति हाम्रो जस्तो मुलुकमा आउँदा खुशी हुनु स्वभाविकै हो । उहाँ आएर नेपालमा जलविद्युत सम्बन्धी, केही सम्बन्धी र रेल यातायात समबन्धी कुराहरु साथै उत्तारी नाकाहरु खोल्ने कुरालगायतका हाम्रा सांस्कृतिक सम्पदाको संरक्ष र सम्वद्र्धनका लागि चीन सरकारले नेपाललाई सदियौंदेखि सहयोग गर्दै आएको छ । त्यसको निम्ति यो भ्रमणले आह्वान गर्छ भन्ने लाग्छ ।
तपाईंहरुको चाहना सिको विचारअनुसार नेपाल चल्नुपर्छ भन्ने हो ?
त्यसो त भारतका प्रधानमन्त्री कति पटक नेपाल आएका छन् । अब मोदीअनुसार नेपाल चल्नुपर्छ भन्ने हो ?
कांग्रेसले त त्यसै भनेको छ नि ?
कांग्रेसले के भन्छ भन्ने होइन । कांग्रेस त अहिले त्यसै बरबराएको छ ।
कांग्रेसले त कम्युनिस्ट अधिनायकवाद नेपालमा चल्ने भयो भनेको छ नि ?
यो संविधान कांग्रेसले मात्रै बनाएको होइन । हामीले पनि बनाएको हो । पूर्वसभामुखको नेतृत्वमा बनेको संविधान हो । कहाँ सुशील कोइरालाको नेतृत्वमा बनेको भनेर उफ्रिन्छ बेला–बेलामा । नेपाल सरकारले संविधान बनाउँछ ? संविधानसभाले संविधान बनाउँछ नि । हामीले बनाएको संविधानअनुसार यो देश चल्छ । नेपाल चलाउनका निम्ति हामीले संविधान बनाएका हौं । त्यसकारण यो सिको, मोदीको, ट्रमको सिद्धान्त अनुसार नेपाल चल्दैन । हाम्रो मित्रराष्ट्र चीनसँग सुमधुर गहिरो सम्बन्ध रहन्छ ।
बहुदलीय जनवादलाई छोडेर कम्युनिस्ट सिद्धान्त अनुसार चल्न खोजेकोमा त विमति छैन नि ?
छैन । नेपालमा जुन असंलग्न परराष्ट्र नीति, र पञ्चशीलको सिद्धान्त छ । त्यसअनसार चल्न नेपाल अडिग छ । कम्युनिष्ट पार्टीअनुसार चल्न हाम्रो पार्टी सक्षम हुँदैन । अहिलेको नेपालको पुँजीवादी व्यवस्था हो । नेपालमा यही व्यवस्था चल्छ । चीन, भारत, अमेरिकालगायत संसारका कुनै राष्ट्रले नेपालको नीतिलाई प्रभाव पार्न सक्दैनन् । नेपाल सानो, कम जनसंख्या, अविकसित मुलुक भए पनि स्वतन्त्र र सार्वभौम राष्ट्र हो । त्यसकारण यहाँ कोही आउँदैमा केही फरक पर्दैन ।
तपाईंहरु आ–आफ्नै स्वार्थमा चल्न खोज्दा नेपाल परराष्ट्र नीतिमा चुकेको छ नि ?
कसरी चुकेको छैन ? अहिलेसम्म त्यस्तो कुनै प्रकारको चिज छैन । जहाँ नेपाल परराष्ट्र नीतिमा नेपाल चुक्नुपर्ने ।
खुला रुपमा सौच भइरहेको छ तर सरकारले हचुवाको भरमा खुला दिशामुक्त देश घोषणा गरेको किन ?
घोषणा गर्ने र नगर्ने त सरकारले किन ग¥यो म ठ्याक्कै भन्न सक्दिँन । अहिले नै तपाईंले भनेको जस्तो मुक्त खुल्ला दिशामुक्त देश भएको छैन ।
सरकारले कुनै तथ्यांक नै नलिई दक्षिण एशियामै पहिलो देश भनेर कसरी घोषणा ग¥यो ?
यो घोषणा चाहिं सरकारले गरेको हो । तर, वास्तविक रुपमा अहिले नै नेपालमा त्यो अवस्था छैन ।
अहिलेसम्म करिव ५६ लाख ६० हजार मात्र शौचालयहरु हाम्रो देशमा छन् भने कसरी मुक्त भयो ?
मैले पनि ठ्याक्कै तथ्यांक त भन्न सक्दिँन तयारी पनि थिएन । यो घोषणा सरकारले किन गरेको उही जानोस् । तर नेपाल अहिले नै खुल्लादिशा मुक्त देश भइसकेको छैन । हुनुपर्छ भन्ने हो ।
हुनुपर्छ तर अहिले नै खुल्ला दिशामुक्त देश त बनेको छैन नि ?
छैन त्यो त छैन । तपाईं र मेरो कुरा मिल्यो त्यसमा ।
तपाईंहरुको पार्टीमा अभैm पनि पूर्व एमाले र पूर्व माओवादीको ह्याङ्ओभर छ किन एकता हुन सकेन ?
यो भरर्खरै मिलेको । सबै संगठन नबनिसकेको, अभैm कयौं विभागहरु बन्न बाँकी रहेको, अहिलेको संरचना अनुसारको विभागहरु, वडाहरु, कतिपय जगवर्गी सगठनहरु बनाउन बाँकी रहेकाले पूर्व–पूर्वकै क्षमताका आधार बन्छ । विवाह गर्नु अगाडि दुवै केटा–केटीहरु कुमार, कुमारी हुन्छन् । त्यस्तै अवस्था अहिले छ । अब यही महिनाभित्र ती सबै काम टुंगिन्छ ।
जनताका समस्या ज्यूँकात्यूँ छन्, महंगीको चपेटामा पिल्सिएका छन् तर मन्त्रीहरुका पीएलाई पनि दशैं खर्चदेखि सबै सुविधा दिने भनिएको छ, तपाईंहरु किन सुविधाभोगी भएको ?
यसमा मेरो कुरा अलि फरक छ । हुन त यो कुरालाई मानिसले मन नपराउलान् । सांसदहरुलाई विकास निर्माणको काममा लगाउनु हुँदैन । उनीहरुलाई कानुन बनाउन विज्ञ बनाउनुपर्छ । उनीहरुलाई स्रोत, साधन दिनुपर्छ । माननीयलाई सक्षम बनाइयो भने राम्रो नीति र कानुन बन्छ । त्यसो भयो भने मात्र देश विकास हुन्छ । यहाँ त माननीयलाई भरे के खाउ, भोलि खाउ भन्ने हैरानीमा राख्नुहुँदैन । कुनै कर्मचारी, कामदार, गरीवहरु जसले साना–साना तहमा जागिर खाएका हुन्छन् । ती वर्गका कामदार र उच्चतहमा रहेका कर्मचारीबीच विभेद गर्नुहुँदैन । त्यसकारण कि सामान्य रुपमा देशभरका सबै कर्मचारीको तलब आधा–आधा घटाइदिउँ । त्यो गर्न सकिन्छ ? त्यो गर्ने हो भने म मान्छु । अर्थात सबैलाई भनेर भत्ता खायो भने त्यसलाई नराम्रो मान्नु हुँदैन । तर, कार्यालयमा घुस आयो, ठेक्कापट्टामा मिलेर कमिसन खायो, निकासी पैठारीमा ठगिगरेर खायो त्यो गर्नु भएन । जसले नेपाली जनताको सेवा गर्ने मान्छेले आँखा छलेर अपराधिक ढंगले खानुभएन ।
भत्ताको भरमा चेपाङको दशैं चेपाङहरुलाई खाली भत्तामा सीमित गर्नुभएको छ नि ?
यसमा अन्याय भएको छ । त्यसलाई निर्मुल गर्नुपर्छ । नेपाल सरकार अहिले जहाँ–जहाँ विभेद भएका छन् । कसैलाई दिने कसैलाई नदिने गर्नुभएन । उनीहरुलाई दिने भत्ता पहिलादेखिको हो । त्यसलाई कुनै बेलामा पनि हटाएको रहेन छ । पहिलादेखि दिने गरेकाले यी सामान्य कुरा हुन् जस्तो लाग्छ । मैले अघि नै भनिसकेको छु । यदि खर्त कटौती गर्ने हो भने साराकासारा सुविधाका भेइकलहरु छन् । यी सबै हटाउनुपर्छ । मेरो पहिलादेखिको भनाइ हो । बस चढेर हिँडे भइगो नि । के बितेको विस्तारै पुगे पनि भइहाल्छ ।
भैसेंपाटीमा मुख्यमन्त्री र मन्त्रीहरुको लागि महलहरु बन्दै छ त्यो किन चाहियो ?
त्यो तपाईंले भनिहाल्नुभयो । मुख्यमन्त्री र मन्त्रीहरुलाई चाहियो होला । तर, वास्तवमा अहिलेको प्राथमिकता के हो भन्ने त सरकारले विचार गरेको होला । यसमा सबै कुरा थाहा हुँदैन । सरकारले दिनदिनै गर्ने काम हामीलाई थाहा हुँदैन ।
चाडवाड नजिकिँदै गर्दा जनताहरु त महंगीको चपेटामा छन् नि ?
जुनसुकै सामानको मूल्य ह्वात्तै बढेकाले जनतालाई मर्का परेको छ । त्यसकारण मैले राष्ट्रिसभामा विशेष समय लिएर बोलेको थिएँ । महंगी नियन्त्रणलाई नियन्त्रण गर्ने भनेर अनुगमनको नाममा मात्र अनुगमन गरिन्छ । सम्बन्धित कर्मचारीले त्यसलाई अर्को पटकदेखि स्थायी ग्राहकको रुपमा लिन्छन् । त्यस कारण सरकार र सम्बन्धित निकायले तत्काल आवश्यक कदम चालोस् भनेको थिएँ ।
तपाईंले त भन्नुभयो तर सरकारले कार्यान्वयन त गरेन नि ?
सरकारले भन्दा पनि यो काम प्रहरी र निजामति कर्मचारीले गर्नुपर्ने हो । भ्रष्टाचार महंगी नियन्त्रण गर्न धेरै कठिनाइ भइरेको छ । यो पुरानो संरचना अन्तर्गत भएकोले त्यसलाई दाउन, जोत्न केही समय लाग्छ ।
चाडवाडको मुखमा लत्तकपडादेखि दैनिक उपभोग्य सामानमा तीन सय प्रतिशत मूल्य बृद्धि भएको छ नि ?
काला बजारिया र तस्करलाई तुरुन्त कारबाही गर्नुपर्छ । मूल्यबृद्धि ह्वात्तै बढेको छ । जुन नेपालले उत्पादन गर्न सक्दैन । बाहिरबाट ल्याउनुको विकल्छैन । त्यसको बाहेक अरु चिजको भाउ बड्नुपर्ने कारणै छैन ।
आपूर्तिमन्त्री लागिरहेको छु भन्नु हुन्छ तर महंगी नियन्त्रण त भएन नि ?
मैले आपूर्ति मन्त्रीलाई नै अगाडि राखेर संसदमै प्रश्न गरेको छु ।
मन्त्रीहरु कमै गर्दैनन् प्रधानमन्त्रीले के गर्ने त्यस्ता मन्त्रीहरुमाथि ?
यसमा मन्त्रीले जानीजानी अयोग्य भएर काम नगरेको भए फेर्ने । मन्त्रीहरुले समस्या ज्यूँकात्यूँ राखेर काम गरेको हल्ला गरेर हिडेका छन् भने अनियमितता गर्नेलाई सहयोग गरेका हुन् । जानीजानी काम गर्न नसक्ने मन्त्रीहरुलाई राखिराख्नु हुँदैन । File Photo



प्रतिक्रिया दिनुहोस्