Logo

प्याजमा भारत निर्भरता, वार्षिक साँढे पाँच अर्वको आयात



काठमाडौं, १५ असोज । यता सडकमा भारतलाई गाली गर्ने उता दैनिक उपभोग्य सामाग्रीमा भारतकै भर पर्ने । जब भारतले कुनै सामानमा प्रतिबन्ध लगाउँछ तब चर्को मूल्य वृद्धिले उपभोक्ताको ढाँड सेकिन्छ । यो देशमा बढ्दै गएको परनिर्भरता प्रवृत्ति हो ।

नेपाल परनिर्भरताको चपेटामा पर्दा उपभोक्ताले अहिले प्याजको चर्को मूल्य तिर्नुपरिरहेको छ । देशमा उत्पादन कम हुँदा भारतबाट ९८ प्रतिशत प्याज आयात हुँदै आएको थियो । अहिले प्याज निर्यातमा भारत सरकारले प्रतिबन्ध लगाइदिंदा तीन सय प्रतिशतले प्याजको मूल्यवृद्धि भएको छ । प्याजको मूल्य एक सय ३० रुपैयाँ पुग्दा कीर्तिमान बनिसकेको छ ।

गत आर्थिक वर्षमा मात्र साँढे पाँच अर्वको प्याज आयोत भयो । उपत्यकामा मात्र २७० टन प्याज खपत हुन्छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा मात्र दैनिक २४ टन प्याज भित्रिन्छ । यीमध्ये सबैजसो प्याज भारतबाट भित्रिन्छ ।

नेपालमा खपत हुने कुल प्याजमध्ये भारतबाट ९८ प्रतिशत आउने अवस्था बन्दा एक प्रतिशतमात्र प्याज उत्पादन देशभित्र हुनथालेको छ । भारतको नासिक, कानपुर, इन्दौर, लखनउ र सिमलालगायतबाट प्याज आयात हुन्छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउँदा देशभित्र प्याज उत्पादन कतिसम्मले घटेको रहेछ भन्ने प्रष्ट भएको छ ।

देशमा कृषिमा अनाकर्षण हुनु र दैनिक उपभोग्य सामाग्री उत्पादनभन्दा अन्य क्षेत्रमा श्रमिकहरु आकर्षि हुनुले प्याज जस्ता सामाग्री उत्पादन निकै कम हुनथालेको छ । देशभित्र भारतलाई गाली दिदै भारतबाट हरेक सामाग्रीमा निर्भर बन्ने प्रवृत्ति बढ्नु अर्को चिन्तको विषय हो ।



प्रतिक्रिया दिनुहोस्