Logo

देवघाटमा वृद्धग्राम बनाइने



देवघाट क्षेत्र विकास समितिले हाल त्यहाँ सञ्चालित वृद्धाश्रमलाई विकास गरी वृद्धग्राम बनाउने तयारी गरेको छ ।

असाहायलाई मात्र नभएर हुने खाने वृद्धवृद्धाको समेत बूढेसकाल सुखमय ढङ्गले जीवन बिताउनका लागि वृद्धग्राम बनाउने तयारी गरिएको हो ।

समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार हाल वृद्धाश्रममा ३६ वृद्धवृद्धा रहेका छन् । यो सङ्ख्या ५० पुर्याईदै छ । कर्मचारी र प्रशासनिकबाहेकका अधिकांश खर्च दाताबाटै पुग्ने गरेको बताए । समितिको हालैको बैठकले दातालाई उत्प्रेरित गर्न आजीवन र विशिष्ट सदस्यको प्रावधानसमेत बनाएको छ ।

रु १५ हजार ५०० देखि ५० हजारसम्म दान गर्नेलाई आजीवन र रु ५१ हजारदेखि एक लाखसम्म दान गर्नेलाई विशिष्ट सदस्य बनाउन लागिएको छ । हालसम्म १७ जनाले आजीवन सदस्यता लिएको पौडेलले बताए । यसरी नै दाता र राज्यका विभिन्न निकायसँग सहयोग जुटाएर सुविधा सम्पन्न वृद्धग्राम बनाउन लागिएको पौडेलको भनाइ छ ।

तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको पालामा यो विषय उठान भएको भए पनि मूर्तरुप लिन नसकेको पौडेलको भनाइ छ । हाल यस विषयलाई गम्भीररुपमा छलफल गरी अघि बढाइएको र सकारात्मक प्रतिक्रिया आएको पौडेलले बताए । साहराविहीन मात्र नभएर वृद्धवृद्धाको सुखमय जीवन बिताएका पनि बस्ने गरी वृद्धाग्राम बनाउन लागिएको हो ।

समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले वृद्धवृद्धाका लागि आफ्नो समय बिताउने राम्रो स्थल देवघाट भएकाले सबैले वृद्धवृद्धाको सम्मानका लागि सहयोग गर्ने बताए । सबैको सहयोगले नमूना वृद्धग्राम बनाउन सकिने निष्कर्ष आफूहरुको रहेको घिमिरेको भनाइ छ । शुरुमा १०० को क्षमताको वृद्धग्राम बनाउने लक्ष्य राखिएको छ । एउटै उमेर समूहका वृद्धवृद्धालाई पूजापाठदेखि सत्संग, ध्यान, प्रवचन, ज्ञान अनुष्ठान आदिमा रमाउन देवघाट उपयुक्त हुने उनको भनाइ छ ।

दशैँमा सेवा रोक्दैन भरतपुर अस्पतालले

चाड पर्वका समयमा निजी अस्पतालमा सेवा पाउन कठिन हुने गर्दछ । यहाँको केन्द्रीयस्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले दशैँको समयमा सर्वसाधारणलाई उपचार गर्न बहिरङ्ग सेवाबाहेक सबै सेवालाई निरन्तरता दिने भएको छ ।

विगतका वर्षमा झै यस वर्ष पनि दशैँको समयमा आकस्मिक सेवामा बिरामीको चाप बढ्न सक्ने भन्दै पूर्वतयारी गरिएको छ । अन्य समयको जस्तो नभए पनि चाडपर्वका समयमा निजी अस्पतालमा सेवा पाउन कठिन हुने भएकाले सबैको रोजाइ सरकारी अस्पताल हुने गर्दछ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीका अनुसार आकस्मिक परेकालाई बहिरङ्ग सेवा नखुले पनि आकस्मिक सेवामार्फत उपचार प्रदान गरिने छ । अन्तरङ्ग विभाग सञ्चालन हुने छन् । प्रसूति सेवा अन्य समयझै निरन्तर चल्ने छ । आकस्मिक शल्यक्रिया गरिने उनले बताए । चार दिन बहिरङ्ग सेवा र पालो लिएर गर्ने शल्यक्रिया नभए पनि बिरामीलाई उपचार लिन कठिन नहुने बताए ।

सो समयमा बाल सघन उपचार कक्षमा कीटाणु मार्नका लागि ढोका बन्द गरेर गर्ने फुमीगेसन कार्य गरिँदै छ । दशैँका समयमा सर्वसाधारणलाई उपचारमा सहज बनाउनका लागि चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको समय तालिका बनाइसकिएको छ । यो समयमा प्राकृतिक प्रकोप र दुर्घटना भएमा तत्काल उपस्थित हुनका लागि स्थानीय चिकित्सकहरुलाई आग्रह गरिएको छ ।

विभागीय प्रमुख निरन्तर सम्पर्कमा रहने तिवारीले बताउनुभयो । भरतपुर अस्पतालमा ६०० श्यया रहेका छन् । चितवनसहित देशका २४ जिल्लाका बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् । निजी अस्पतालमा दशैँ आउनु केही दिनअघि देखिनै बिरामी भर्ना र शल्यक्रिया घटाउँदै लगिन्छ । ती बिरामीसमेत सरकारी अस्पतालमा जाने गर्दछन् ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अन्य समयको जति नभए पनि दशैँका समयमा समस्या पर्ने अधिकांश बिरामी सरकारी अस्पताल आउने गर्दछन् । केही दिन अघि कर्मचारीको आन्दोलनका कारण एक दिनमात्र सेवा प्रभावित हुँदासमेत धेरैले दुःख पाएका थिए ।



प्रतिक्रिया दिनुहोस्