Logo

चिकित्सक नहुँदा सेवा प्रभावित



सल्यान, १५ असोज (रासस) : सल्यान जिल्ला अस्पतालमा चिकित्सक नहुँदा सेवा प्रभावित हुन थालेको छ । अस्पतालमा चारजना चिकित्सकको दरबन्दी भए पनि एकजना मात्रै चिकित्सक कार्यरत हुँदा बिरामीको उपचारमा समस्या हुन थालेको छ ।

कार्यालय सहयोगीसहित ३२ जनाको दरबन्दी भए पनि अहिले एकजना डाक्टरसहित १४ जना कर्मचारी मात्रै भएपछि अस्पतालमा कर्मचारी व्यवस्थापन गर्नसमेत कठिनाइ भएको अस्पतालले जनाएको छ । पन्ध्र श्याको अस्पताल अहिले ३७ श्ययामा सेवा विस्तार गरेको भए पनि दरबन्दी अनुसारका चिकित्सक नभएपछि सेवा नै प्रभावित भएको अस्पतालका प्रमुख डा अर्जुन बुढाले बताए ।

“अस्पतालमा नवौं तहका एक जना चिकित्सकसहित चार जना डाक्टर हुनुपर्ने हो अहिले एकजना मात्रै चिकित्सक भएकाले उपचारमै समस्या हुन थालेको छ”, डा बुढाले भने । सल्यान जिल्ला अस्पतालमा सेवा विस्तार गरिएको भए पनि दरबन्दी अनुसारका कर्मचारी नहुँदा एउटै चिकित्सकले रातिसम्म ओपिडीमा काम गर्नुपर्ने बाध्यता रहेको चिकित्सक बुढाको भनाइ छ । “एउटै चिकित्सकले बहिरङ, आपत्कालीन सेवा दिनुपर्ने अवस्था छ यसले गर्दा बिरामी धेरैबेर कुर्नुपर्ने अवस्था छ”, डा बुढाले भने ।

अपस्तालमा उपचारका लागि दैनिक २०० देखि ३०० सम्म बिरामी आउँछन्, एउटा चिकित्सकले ओपिडीमा काम गर्ने कि, भिडियो एक्सरे गर्ने कि भर्ना भएका बिरामी हेर्ने ?”, डा बुढाले भने । अस्पतालमा सहज रुपमा सेवा प्रवाहका लागि कम्तीमा पनि चार जना विशेषज्ञ चिकित्सक हुनुपर्ने उनको भनाइ छ ।

अस्पतालमा कार्यरत कर्मचारीको समायोजनसमेत अन्यत्र भएकाले अस्पतालमा अझै सेवा प्रभावित हुने सल्यान जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दामोदर शर्माले जानकारी दिए । “अस्पतालमा दिनदिनै सेवा विस्तार भइरहेका छन् धेरै रोगको उपचारका लागि बाहिर जानुपर्ने अवस्था छैन तर विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ”, अध्यक्ष शर्माले भने ,“अहिले त दरबन्दी भन्दा आधा कर्मचारी छन् यसमा पनि समायोजनपछि अस्पतालमा एकजना पनि परेको छैन”, अध्यक्ष शर्माले भने । अस्पतालको समस्या धेरैपटक प्रदेश सरकारसँग राखेको भए पनि कुनै सुनुवाइ नभएको शर्माको भनाइ छ ।

सल्यान जिल्ला अस्पतालको समस्यालाई आफूहरुले गम्भीर रुपमा लिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर विश्वकर्माले बताए । “कर्णाली प्रदेशभरि नै सबै क्षेत्रका कर्माचारीको अभाव रहेको छ यसमा पनि स्वास्थ्य क्षेत्रमा अझै बढी समस्या छ”, सचिव विश्वकर्माले भने ।

सल्यानमा रहेका दुईवटा प्राथमिक स्वास्थ्य केन्द्रमा समेत स्वास्थ्यकर्मीको अभाव भएकाले त्यहाँ पनि स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि पहल गर्ने सचिव विश्वकर्माको भनाइ छ । अस्पतालमा उपचारका लागि छिमेकी जिल्ला रोल्पा र पश्चिम रुकुमबाट पनि बिरामी आउने गरेका छन् । अहिले मौसम परिवर्तन हुने समय भएकाले पनि बिरामीको चाप बढेको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot