Logo

महिलासँगको विवादास्पद सम्बन्धले राजनीतिक करिअर डामाडोल



काठमाडौं, १५ असोज । कुनैपनि पुरुषको सफलतामा महिलाको मुख्य भूमिका हुन्छ । महिलाको साथ र मायाले पुरुषले सफलता पाएका धेरै उदाहरणहरु छन् । तर, महिलाका कारण एकै मिनेटमा करिअर नै समाप्त भएकाहरु पनि छन् ।

नेपालको राजनीतिक इतिहासमा महिलाका कारण धेरै घटना घटेका छन् । दरबार हत्याकाण्ड पनि महिलाकै कारण भएको रिपोर्ट तयार भयो । यद्यपि यसमा शंका नै छ । तत्कालिन युवराज दीपेन्द्र शाहले देवयानी राणासँग प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न नपाएको झोकमा अन्धाधुन्दा गोली चलाएर परिवारका सदस्यको हत्या गरेको उल्लेख छ ।

पछिल्लो समय निवर्तमान सभामुख कृष्णबहादुर महरा महिलासँग जोडिए । उनीमाथि जर्बजस्तीको गम्भीर आरोप लाग्यो । संसदकी कर्मचारीको कोठामा गएर जर्बजस्ती गरेको विषय सार्वजनिक भएपछि उनी राजीनामा दिन वाध्य भए । यद्यपि आरोप लगाउने रोशनी शाहीले महरा निर्दोष रहेको र रिसको झोकमा आरोप लगाएको भन्दै बयान फेरेकी छिन् । तर, महराले राजीनामा दिएपछि सभामुख चयनको नयाँ प्रक्रिया शुरु हुने देखिएको छ ।

महराको लामो राजनीतिक करिअर महिलाको जर्बजस्तीको आरोपले डामाडोल पारेको छ । यसले उनको परिवार समेत तनावमा परेको छ । महराका छोराहरुले सैन्य पोशाक लगाएर चुनौतीयुक्त फेसबुक पोष्ट गरेका छन् ।

माओवादी छाडेर तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका रवीन्द्र श्रेष्ठ पनि महिलाको मामलामा मुछिएर राजनीतिक करिअर बिगारे । लेखन क्षेत्रमा सक्रिय श्रेष्ठ बहुविवाह गरी भूमिगत भए । सामान्य प्रशासनमन्त्री समेत भइसकेका उनको राजनीतिक करिअर बहुविवाहका कारण डामाडोल भयो ।

महिलाका कारण पूर्वमन्त्री बलबहादुर केसीको राजनीतिक करिअर पनि बिग्रिएको थियो । पञ्चायतकालका लोकप्रीय युवा नेता बहुदलमा आइपुग्दा एउटा घटनामा मुछिए । उनी एक महिलाको घरको पर्खाल उक्लिएको समाचार छापिएपछि विवादमा परे । यसले उनको राजनीतिमा ठूलो धक्का पुग्यो ।

माओवादीको जनयुद्धमा पनि महिलासँग जोडिएका कतिपय नेताहरुको राजनीतिक करिअर नै बिग्रियो । माओवादीभित्र यो विषयलाई अनुशासनको दायरामा ल्याएर कडा कारबाही गरिएको घटनाहरु छन् ।

महिलाका कारण राजनीतिक करिअर बिग्रेकाहरुले आफूसँग जोडिएका महिलालाई दोष दिए या नदिएपनि मुख्य दोषी स्वयं उनीहरु नै हुन् । पदीय मर्यादा र अनुशासन कायम नराख्दा क्षणभरमै उनीहरुको करिअर ध्वस्त भयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot