Logo

मासिक एक लाख तलबको आश्वासनले डुवायो विनविनले



दाङ, १६ असोज । घोराही उपमहानगरपालिका–१३ बडहराकी उमादेवी नेपालीलाई महिनाको एक लाख कमाइ हुने प्रस्ताव घरमै आइपुग्यो। घरव्यवहार र आर्थिक समस्याले थिचिएकी उमाका लागि त्यति पैसा कमाउने अवसर चानचुने थिएन।

त्यसका लागि दुई लाख रूपैयाँ तिरेर कम्पनीको सदस्य बन्नुपर्ने भनिएको थियो । दायाँबायाँ विचारै नगरी उनले प्रस्ताव ‘ओके’ गरिदिइन्।

मासिक एक लाख तलबदेखि ठूलो गार्मेन्ट कम्पनीको सेयर सदस्य पनि बनिने र पाँच वर्षपछि पेन्सन हुने प्रलोभनमा उनी फसेकी थिइन्।

‘मासिक एक लाख तलब हुने, भारतको ठूलो गार्मेन्ट कम्पनीको सेयर सदस्य पनि बन्न पाइने भनेका थिए,’ उमाले भनिन्, ‘सदस्य बनेको पाँच वर्षपछि पेन्सन पनि हुने भनेपछि मलाई प्रस्ताव मन प(यो।’

विनविन नामक नेटवर्किङ कम्पनीमा सदस्य बन्न प्रस्ताव लिएर आएकी महिलालाई उमाले सदस्यताबापत दुई लाख रूपैयाँ बुझाइन्। लाखौं रकम कमाउने आशा राखेकी उमाले अन्ततः ठगिएको थाहा पाइन्।

उमा यतिखेर न्यायका लागि तीन वर्षदेखि जिल्ला प्रहरी कार्यालय धाइरहेकी छन्। उनकै कारण छोरीसमेत फसिन्। सदस्य बनेपछि थप सदस्य बनाउनैपर्ने कम्पनीको नियम रहेपछि उनले पहिलो रोजाइमा आफ्नी छोरीलाई पारिन्।

छोरीका तर्फबाट बुझाएको दुई लाख रकम पनि फस्यो। ‘आफू सदस्य बनेपछि अरूलाई पनि सदस्य बनाउनुपर्छ भने। मैले पहिलो रोजाइमा छोरीलाई पारें,’ उमाले भनिन्, ‘दुईजनाको गरेर चार लाख रूपैयाँ डुब्यो।’

विनविन नेटवर्किङ नामक कम्पनीको सदस्य बनेपछि यसका एजेन्टले भारतको बनारसस्थित कम्पनीको ‘हेड क्वार्टर’मा प्रशिक्षण तथा अनुगमनका लागि लैजाने बताउँदै आएका थिए।

सोहीअनुसार उमा आफ्नी छोरी र स्थानीय नागरिकसहित बनारसस्थित कम्पनीसम्म पुगिन्। त्यहाँ पुगेपछि मात्र उनीहरूले ठगिएको चाल पाए। उनीहरूलाई सो कम्पनीभित्र प्रवेश गर्नै दिइएन।

कारण, उनीहरूले बुझाएको रकम कम्पनीमा पुगेकै रहेनछ। ‘तिमीहरूले बुझाएको पैसा आएकै छैन, सदस्य नभएकालाई कम्पनीभित्र छिर्न दिँदैनौं भनेर हामीलाई बाहिरबाटै फर्काए,’ उनले भनिन्, ‘त्यसपछि हामीले ठगिएका भन्ने थाहा पायौं।’

ठगिएको थाहा पाएपछि उनीहरूले रकम बुझाएकी महिलालाई पक्रे। तर ती महिला पनि ठगिनेमै परेकी रहिछन्। अर्का एक एजेन्टले उनको रकम कुम्ल्याएर भागेको थाहा भयो। आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्