Logo

महरा र रोशनीमध्ये को जेल जालान् ? कानुनविदले देखे यी सम्भावना



काठमाडौं, १६ असोज । १२ असोजको साँझ तीनकुनेस्थित रोशनी शाहीको कोठामा कोही प्रवेश गर्यो । उनीमाथ जर्बजस्ती गरेर आक्रमण समेत गर्यो । आक्रमण गर्नेको फुटेको चश्मा र जुत्ता समेत कोठामा भेटियो ।

१३ असोजमा हाम्राकुरालाई अन्तवार्ता दिने क्रममा रोशनी शाहीले यी विषय भन्दै गर्दा जर्बजस्ती गर्ने व्यक्ति निवर्तमान सभामुख कृष्णबहादुर महरा भएको बताइन् । आइतबार साँझ नै उनले प्रहरीको हटलाइनमा कल गरेर प्रहरी डाकिन् । प्रहरी घटनास्थल पुगेर सबै जानकारी लियो । आफूले घटनाबारे सबै जानकारी गराएको खबर रोशनीले महरालाई समेत जानकारी गराएको खुलिसकेको छ ।

सोमबार रोशनीले किटानी जाहेरी दिन मानिन् । १४ असोजमा उनले नागरिकन्युजमा अन्तवार्ता दिएर महरा निर्दोष रहेको र आफूले आरोपमात्र लगाएको बताइन् । उनले एकै रातमा भनाई फेरिन् । यतिमात्र नभई महराको पक्ष लिदै फेसबुकमा शृंखलावद्ध पोष्टहरु गरिन् । त्यसभन्दा अघि नै महराले सभामुख पदबाट राजीनामा दिइसकेका थिए ।

१५ असोजमा रोशनीले प्रहरीमा दर्ता गरेको निवेदनमा महराले जर्बजस्ती नगरेको विषय उल्लेख छ । अब पीडित दाबी गरेकी रोशनीले किटानी जाहेरी दिन नमानेको अवस्था र भनाई नै फेरिएको अवस्थामा के हुन्छ ?

कानुनविद्हरुले रिपोर्टर्स नेपालसँग कुरा गर्दै बयानका आधारमा नभई प्रमाणका आधारमा घटनाको अनुसन्धान र कानुनी उपचार हुने तर्क गरेका छन् । अब इमान्दारपूर्वक अनुसन्धान गर्ने हो भने यो घटना रोशनी शाही या कृष्णबहादुर महराको दाबी या बयानले मात्र टुंगो लाग्दैन । घटनाको दशी प्रमाणहरु खोजिन्छ ।

कानुनविद टीकाराम भट्टराई विषयवस्तुलाई रहस्यमय भन्छन् । ‘अनुसन्धानमा पीडितले सहयोग गरेन या बयान फेरियो भने अप्ठ्यारो हुन्छ,’ उनले भने । तर, निराधार आरोप लगाउने व्यक्तिलाई कारबाही हुने कानुनी व्यवस्था रहेको बताउँछन् । यसो हो भने रोशनीको बयानलाई आधार मान्दा आरोप निराधार बनेको छ । उनी जेल जान सक्छिन् । भट्टराईले भने, रोशनी शाहीमाथि पनि प्रहरीले अनुसन्धान थाल्नुपर्छ ।

तर, रोशनीको पहिलो अभिव्यक्ति ठिक हो भने कृष्णबहादुर महरा कारबाहीमा पर्न सक्छन् । भट्टराई भन्न् , ‘रोशनीको पहिलो अभिव्यक्ति ठिक हो भने कृष्णबहादुर महरालाई कारबाही हुनुपर्छ । कानुनले कुनै पदीय हैसियत तलमाथि गर्न सक्दैन ।’

रोशनीले आफू डिप्रेसनको रोगी भएको दाबी समेत गरेकी छिन् । तर, दाबी गरेको भरमा मानसिक रोगी या डिप्रेसनको रोगी पुष्टि नहुने भट्टराईको भनाई छ । उनले भने, ‘रोशनीको अभिव्यक्ति हेर्दा मानसिक रोगी हो भन्ने देखिदैन ।’

जर्बजस्ती करणीको आरोप पुष्टि भएमा अधिकतम १५ वर्षसम्मको जेल सजाय तोकिएको छ । कानुनविद भट्टराईले रिपोर्टर्स नेपालसँग भने, ‘जर्बजस्ती गरेको पुष्टि भयो भने अधिकतम १५ वर्षसम्मको जेल सजाय छ । पीडित भनिएकी मान्छेलाई अंश दाबी हुन्छ ।’ यौन दुव्र्यवहारको आरोप पुष्टि भएमा अधिकतम तीन वर्षको कैद सजायको कानुनी व्यवस्था रहेको भट्टराईले जानकारी दिए ।

सांसद समेत रहेका काँग्रेस नेता धनराज गुरुङ कृष्णबहादुर महरालाई तत्काल पक्राउ गनुपर्ने बताउँछन् । उनी रिपोर्टर्स नेपालसँग भन्छन्, ‘घटनामा पीडितले महराजीले जर्बजस्ती गरेको भनिसकेपछि पक्राउ गर्नुपर्छ ।’

रोशनी शाहीले बयान फेरेकोमा उनीमाथि दबाब भएको हुनसक्ने भन्दै त्यसको पनि अनुसन्धान हुनुपर्ने बताए । उनले भने, ‘दबाबकै कारणले फेरेकी हुन् जस्तो लाग्छ । यहाँ जहिले पनि पीडकलाई उम्काउने परम्पराको विकास भएको छ । कुनै महिला बलत्कृत हुन्छिन् । त्यसपछि उनलाई गच्छेअनुसार ललाई, फकाई, लोभलालच देखाई, डर, त्रास, दबाब आदि जुनसुकै हर्कत गरेर बयान फेर्ने चलनले गर्दा यस्ता घट्नाहरु झन्झन् बढ्दै गइराखेको छ ।’

सांसद समेत रहेका कानुनविद रामनारायण बिडारीको तर्क फरक छ । उनी भन्छन्, ‘महराजीमाथि योजनावद्ध षड्यन्त्र हुनसक्छ ।’ आरोपका तथ्यहरु भएमात्र छानविन हुनुपर्ने उनको राय छ । घटनाप्रति शंका गर्दै बिडारी भन्छन्, ‘कोही मान्छेलाई केही गर्दा पनि बदनाम गर्न सकिएन भने एउटा गिनीपिग तयार गरेर फयाट्ट एउटा कुरा भन्दियो भने लौ हेर भनेर अरु उफ्रिने रहेछन् ।’

कसैलाई बदनाम गर्न खोज्नेलाई पनि कानुनले कारबाहीको व्यवस्था गरेको बताए । रोशनी शाहीलाई पनि कारबाही हुनसक्ने तर्क गरे । उनले रिपोर्टर्स नेपालसँग भने, ‘हिले हामीले कानुन कस्तो बनाएका छौं भने कसैलाई बद्नाम गराउने उद्देश्यले कसैले झुठा जाहेरी दिएमा वा नठहर्ने कुरामा उजुरी गरेमा उसलाई पनि कारबाही हुने कानुनी व्यवस्था हाम्रो फौजदारी संहितामा छ । त्यस कारण ती महिलालाई पनि कारबाही हुन सक्छ ।’

नेपाल बार एशोशिएसनका महासचिव समेत रहेका कानुनविद लिलामणि पौडेलले अनुसन्धान अन्तै मोड्न खोजिएको बताए । बयान परिवर्तन गर्नेलाई पनि कानुनले सजाय हुने व्यवस्था गरेको बताए । उनले रिपोर्टर्स नेपालसँग भने, ‘पहिलो बयानमा जर्बजस्ती भनिसकेपछि अब महरा पितासरह भन्नुको कुनै अर्थ छैन ।’ प्रहरी अनुसन्धान जारी रहने र यसमा लिखित उजूरी वा किटानी जाहेरी आवश्यक नपर्ने बताए ।

कानुनविद डा. चन्द्रकान्त ज्ञवाली अहिले रोशनी शाहीले बयान फेरेको कुरालाई उनले ‘एक्स्ट्रा जुडिसियल डकुमेन्ट’ भएको बताए । उनले रिपोर्टर्स नेपालसँग भने, ‘यदि पहिलो भिडियोमा लगाएको आरोप गलत सावित भए उनलाई साईबर क्राईमको मुद्दा चलाउन सकिन्छ ।’ शाहीमाथि यदि कसैले ज्यान मार्ने धम्की दिएको हो भने पनि कसले धम्की दिएको भन्नेबारे अनुशन्धान हुनुपर्ने ज्ञवालीले स्पष्ट पारे ।

कानुनका जानकारहरुको तर्कलाई आधार मान्ने हो भने महरामाथि रोशनी शाहीले शुरुमा लगाएको आरोप र फेरेको बयानले घटनाको अनुसन्धान या छानविन जटिल बनेको छ । तर, घटनाको अनुसन्धान गम्भीरताका साथ भए कोही न कोही जेल जाने निश्चित छ । या त यो घटनामा महरा जेल जान्छन् या त रोशनी शाही । महरामाथि जर्बजस्ती गरेको पुष्टि भए जेल जाने सम्भावना रहन्छ । रोशनीले ढाँटेको या बदनाम बनाउने नियत राखेर षड्यन्त्र गरेको भए उनीमाथि गम्भीर मुद्या लागी जेल जानुपर्ने अवस्था रहन्छ ।

घटना त्यतिकै भासभुस हुने सम्भावना कम भइसकेको छ । प्रहरीले अनुसन्धान थालिसकेको छ भने नागरिकको ध्यान घटनाको कारबाही कसरी अगाडि बढ्छ भन्नेतर्फ गइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्