Logo

चिनियाँ प्याज आयात



रसुवा, १६ असोज । भारतबाट प्याज आयात रोकिएपछि रसुवागढी नाका हुँदै चीनबाट आयात गर्न थालिएको छ। यसपटक ६२ हजार पाँच सय ८० केजी प्याज आयात भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ। दुई दिनमै ३१ लाख ९३ हजार ६ सय २१ रुपैयाँ मूल्य बराबरको प्याज आयात भएको कार्यालयको तथ्यांक छ।

रसुवागढी नाकाबाट यसअघि लसुन मात्रै आयात हुने गरेको थियो। यसपटक भने प्याज पनि आयात भएको छ। यसअघि पनि प्याज आयात भएको हुनसक्ने प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए। ‘ठूलो परिमाणमा चाहिँ यसपटक आयात भएको हो,’ उनले भने, ‘यसअघि पनि सानो परिमाणमा आयात भएको हुनसक्छ।’

मागको तुलनामा नेपालमा प्याज उत्पादन भएको छैन। जसका कारण भारतबाट प्याज आयात हुने गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार भारतबाट ९५ प्रतिशत र चीनबाट पाँच प्रतिशत प्याज आयात हुन्छ।

गत आर्थिक वर्ष ०७५र७६ मा भारत र चीनबाट १६ करोड ७९ लाख केजी प्याज आयात भएको थियो। नेपालीको भान्छामा पाक्ने कुल प्याजको परिमाणमध्ये झण्डै ९८ प्रतिशत आयात हुने गरेको विभागले जनाएको छ।

२०७१ देखि रसुवागढी नाकामा कारोबार सुरु भएको हो। त्यसयता चीनबाट तेल, फलफूल, रेडिमेड सामग्री, इलेक्ट्रिक सामग्री, निर्माणका सामग्री आयात हुँदै आएको छ। आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्