Logo

बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रण



जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने नरभंक्षी चितुवा नियन्त्रणमा लिइएको छ । भानु नगरपालिका–२, ३ र ४ मा बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको नरभंक्षी चितुवा आज बिहान नियन्त्रणमा लिइएको हो ।

चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा खोर निर्माण गरिएपछि चितुवा उक्त खोरमा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । बरालका अनुसार चितुवा नियन्त्रणका लागि बाख्रा राखेर खोर बनाइएको थियो । “लामो समयको प्रयासपछि चितुवा खोरमा पर्न सफल भएको छ”, बरालले भने , “नियन्त्रणमा आएको चितुवालाई चिडियाखाना वा राष्ट्रिय निकुञ्ज पठाउने तयारी गरेका छौ ।”

बालबालिकालाई आक्रमण गरेर ज्यान नै लिने चितुवा नियन्त्रणमा आएपछि स्थानीयवासी खुशी भएका छन् । स्थानीयवासी अर्जुन रानाभाटले नरभंक्षी चितुवा नियन्त्रणमा आएसँगै सर्वसाधारणले राहत महसुस गरेको जानकारी दिए । चितुवाको आक्रमणबाट यसअघि भानु नगरपालिकामा दुई बालक र दुई बालिकाको मृत्यु भएको थियो ।

विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो । डिभिजन वन कार्यालयले सबै मृतकका परिवारलाई क्षतिपूर्तिस्वरुप रु दश लाखका दरले राहत रकम वितरण गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्