Logo

शुल्क बढ्ने तर चिकित्सकको तलब किन नबढ्ने ? : डा. रमण (भिडियोसहित)



काठमाडौं, १६ असोज । डेमोक्रेटिक मुभमेन्ट फर नेपालका महासचिव डा. चन्दन रमणले सरकारले तोकेको शुल्क विश्वविद्यालयहरुले ईमानदारीताका साथ लागु गर्नुपर्ने बताएका छन् । त्यस्तै उनले सबै मेडिकल कलेजमा ७५ प्रतिशत चिकित्सा छात्रावृत्तिको कोटा निर्धारण गरेर कार्यान्वयन गर्नुपर्ने पनि आफूहरुको माग रहेको सुनाए ।

लेट फि–फाईन शुल्कको नाममा भएको लुटतन्त्र तत्काल रोकिनुपर्ने पनि उनको माग छ । रमणले एम.बि.बि.एस., नर्सिङ, बि.डि.एस., एम.डी, एम.एसको प्रवेश परीक्षा निश्पक्ष हुनुपर्ने पनि माग गरे । यही असोज ५ गतेमात्रै काठमाडौं विश्वविद्यालयले एम.बि.बि.एस र बि.डि.एस. प्रवेश परीक्षाको नतिजा २५० जना विद्यार्थीको गडबढ भएर आएकोबारे पनि निश्पक्ष छानबिनका माग गरे ।

उनले भने,‘प्रश्नपत्र बाहिरिएको घट्ना बाहिर आएको छ, यसबारेमा पनि निश्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ ।’ त्यस्तै उनले चिकित्सा शिक्षामा हरेक वर्ष बढ्ने शुल्ककै आधारमा डाक्टर, नर्स, दन्त चिकित्सक र कन्सलटेन्टको पनि त्यही अनुपातमा तलव वृद्धि हुनुपर्ने बताए ।

उनले सरकारले तोकेको समयावधिभित्रै गण्डकी र चितवन मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता नगरेकोमा पनि गम्भिर आपत्ति जनाए ।
उनले भने,‘जायज माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दा चितवन मेडिकल कलेजमा विद्यार्थीहरुमाथि भएको प्रहरी दमनको घट्ना निन्दनीय छ, यसको निश्पक्ष छानबिन गरिनुपर्छ । अहिलेसम्म गरिएको छैन् । राज्यपक्ष र विश्वविद्यालयबाट उदासिनता देखियो ।’

लोकतान्त्रिक मूल्य र मान्यतामा रहेर, र विधिको शासनको आधार विद्यार्थीले राखेका जायज मागहरु सरकार पक्ष र मेडिकल विश्वविद्यालयका प्रशासन र डिनहरुले सम्बोधन गर्नुपर्ने उनको तर्क छ । उनले भने,‘तर, विद्यार्थीहरुको जायज माग पूरा गर्नुको साटो उनीहरु विद्यार्थी र यसका नेताहरुलाई परीक्षामा नियतवस फेल गराएर चरम मानसिक यातना दिन उद्धत छन् ।’ त्यस्तै उनले वर्ताको नाममा सरकारले आन्दोलनलाई दमन गरेको पनि टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्