Logo

चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमण : ऋणको पासोमा नपर्न सरकारलाई कांग्रेस नेताहरुको सुझाव



काठमाडौं, १६ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्रीहरुले चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल भ्रमणमा आउँदा ऋण सम्झौता नगर्न सरकारलाई सुझाव दिएका छन् । कांग्रेस नेताहरु डा. प्रकाशशरण महत, डा. नारायण खड्का र एन.पी. साउदले चिनियाँ राष्ट्रपति सि नेपाल आउँदा ऋण सम्झौता नगर्नतर्फ सरकारलाई सचेत गराएका हुन् ।

पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा उनीहरुले चीनसँग अनुदानमा बन्ने परियोजनाबारे मात्रै ध्यान दिन सुझाव दिएका छन् । उनीहरुले चिनियाँ ऋणको पासोमा नपर्दा नै नेपालालई दिर्घकालिन फाईदा हुने बताएका छन् । तर, उनीहरुले आफू पनि नेपालमा भारत र चीन दुवैबाट रेल आओस भन्ने नै पक्षमा रहेको स्पष्ट पारे ।

अहिले ऋणमा चिनियाँ रेल ल्याउने सम्झौता गरिए नेपाल चिनियाँ ऋणबाट उक्सिनै नसक्ने उनीहरुको भनाई छ ।केरुङ–काठमाडौं रेलवे परियोजना चीनले नै बनाईदिओस भन्ने नेपालको भनाई छ । नेपालले यो परियोजना चिनियाँ अनुदानमा बनाईदिओस भन्ने चाहेको छ । तर, चीनले यो परियोजनाको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन र विस्तृत परियोजना प्रतिवेदनको लागि पनि फण्ड दिन तयार नभएको बुझिएको छ । कतिपयले यो परियोजनाको अध्ययन प्रतिवेदन तयार पार्न त आर्थिक सहायता नगर्ने चीनले कसरीले यत्रो परियोजना अनुदानमा बनाईदिन्छ भनेर कल्पना गर्न सकिन्छ ? भनेर नेपालमा बहस समेत सुरु गरेका छन् ।

उता, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नेपालले स्टाण्र्ड गजमा रेल बनाउने भनेर सार्वजनिक रुपमा बोलेकोले यो परियोजना सम्पन्न हुन नै करिब दश देखि १५ वर्ष लाग्ने हुन्छ । भारतीय रेल ‘ब्रोडगेज’ मा बन्छन् । भारतले यही ब्रोडगेजमा ‘जयनगर–जनकपुर’ रेलमार्ग बनाईसकेको छ । नेपालजस्तो सिमित साधन र स्रोत भएको देशले रेलमार्ग निर्माणको लागि ब्रोडगेज र स्टाण्र्डगज दुवै एफोर्ड गर्न नसक्ने पनि चर्चा सुरु भएको छ । कतिपयले हाम्रा नेताहरुले काठमाडौं–केरुङ रेलमार्गको बारेमा नेपाली जनतालाई मुर्ख बनाईरहेका छन् भनेरपनि टिप्पणी गर्न थालेका छन् ।

उता, प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानीको हिसाबकिताब नहुने बताउँदै आएका छन् । ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग छिट्टै नेपालमा हुने उच्चस्तरीय भेटघाटमा सरकार–सरकार र जनता–जनताबीचको सम्बन्ध बहुआयामिक बनाउन नै आफूले प्रयास गर्ने स्पष्ट पारेका छन् ।

ओलीले नेपाल–चीनबीच आपसी मित्रता भएमा नै दुवै पक्षलाई लाभैलाभ हुने बताएका छन् । दुई देशबीचको भेटघाटमा भौतिक अपेक्षा तपसलिका कुरा हुने ओलीको भनाई छ । उनले भेटपछि प्रतिफल प्राप्त होला तर सपिङ लिष्ट बनाएर कुरा नहुने स्पष्ट पारिसकेका छन् । उनको लागि मित्रताको मूल्य नै सर्वा्धिक हुनेछ ।

प्रधानमन्त्री ओलीले दिएको जानकारी अनुसार चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुनेछ । ओलीले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण एकदम सफल हुनेपनि दाबी गरिसकेका छन् । चिनियाँ राष्ट्रपति सीले निकट भविष्यमा नै नेपालको औपचारिक भ्रमण गर्ने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्