Logo

जब ओली र प्रचण्डले रोशनी शाहीको कोठा वरिपरिको भिडियो फुटेज हेरे…



रिपोर्टर्स नेपाल, १७ असोज । केही महिना अघि तामझामका साथ तीनकुने क्षेत्रमा सीसीटीभी जडान गरियो । जडान कार्यक्रममा महान्यायाधिवक्ता अग्नि सापकोटा देखि भ्याली डिआइजी शैलेश थापा क्षेत्री सहभागी थिए । एउटै क्षेत्रमा यति धेरै सीसीटीभी जडान गरिएकोमध्ये तीनकुने पनि हो । सीसीटीभीको निगरानीमा तीनकुनेका अधिकांश स्थानहरु रहे । यसकारण यो क्षेत्र निकै सुरक्षित रहेको ठानियो । उक्त क्षेत्रमा आवतजावत गर्नेहरुको निगरानी गर्न सकिने अवस्था छ ।

तीनकुनेमै रोशनी शाहीको कोठा छ । जहाँ निवर्तमान सभामुख कृष्णबहादुर महरा १२ असोजको राति पुगेर जर्बजस्ती गरेको आरोप आयो । उनी त्यहाँ पुगेका थिए कि थिएनन् ? यो प्रश्नको प्रमाणिक उत्तर नेपाल प्रहरीसँग मात्र छ । किनभने सीसीटीभीको विवरण प्रहरीसँग सुरक्षित हुन्छ । रोशनीको कोठा वरिपरि महराको गाडी पुगेको थियो कि थिएन ? उनी एक्लै पुगेका थिए या सुरक्षाकर्मीलाई पनि साथ लिएर पुगेका थिए ? सीसीटीभीको फुटेजले प्रष्ट पार्छ ।

विश्वस्त स्रोतका अनुसार नेपाल प्रहरीसँग यी भिडियो फुटेजहरु रहेको छ । फुटेज प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलसम्म पुगेको थियो । १३ असोजमा विहानै ओली र प्रचण्डबीच छलफल भयो । महराबाट गल्ती भएको देखिएपछि उनीहरु कठोर कदम चाल्ने निष्कर्षमा पुगे ।

कुनै महिलाले आरोप लगाउँदैमा देशमा कसैको पद नगएको अवस्थामा महराको पद जानुमा भिडियो फुटेज पनि कारण बन्यो । घटना घटेको रातिको भिडियो फुटेज मगाएर हेरेपछि महरालाई राजीनामा दिन लगाइएको थियो । नत्र महरा राजीनामाका लागि तयार थिएनन् । मिडियामा आएकै भरमा र कसैले आरोप लगाएकै भरमा सभामुख जस्तो पद जाने थिएन ।

महरा १२ असोजको राति आइतबार तीनकुने क्षेत्रमा पुगेको प्रमाण भेटिएको छ । यसैले उनलाई अप्ठ्यारोमा पारेको थियो । घटनाबारे रोशनीले मिडियामा अन्तवार्ता दिइसकेपछि विपक्षीले समेत गम्भीरताका साथ लिएपछि प्रचण्ड समेत आफ्नै विश्वासपात्रलाई राजीनामा दिन लगाउने अवस्थामा पुगेका थिए । File Photo



प्रतिक्रिया दिनुहोस्