Logo

१४ लाखले काठमाडौं उपत्यका छाडे



काठमाडौं, १७ असोज । दशैंको मुखैमा उपत्यकाको मुख्य–मुख्य नाकामा दशैं मान्न उपत्यका छोडी गाउँ जाने यात्रुको लर्को लागेको छ। बुधबारसम्म मात्रै १४ लाख १३ हजार ३ सय ५७ यात्रुले उपत्यका छोडेका छन्। यो समाचार आजको नेपाल समाचारपत्रले छापेको छ ।

नागढुंगा, भक्तपुर, मुड्खु र फर्पिङ नाका हुँदै ती यात्रु उपत्यकाबाट बाहिरिएका हुन्। त्यस्तै असोज ५ देखि १५ गतेसम्मको तथ्यांकअनुसार हेर्ने हो भने भने ८ लाख ४२ हजार २ सय ४९ जना यात्रु उपत्यका भित्रिएका छन्।
ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार १ लाख ५५ हजार ८ सय ७७ सवारीसाधन उपत्यकाबाट बाहिरिएको छ। त्यसै गरी १ लाख ३० हजार १ सय ६४ साधन उपत्यका भित्रिएको छ।

पछिल्लो दुई दिनदेखि २ लाख बढी यात्रुले उपत्यका छोडिरहेको उहाँले जानकारी दिनुभयो। ‘दुई दिनदेखि २ लाख बढी यात्रुले उपत्यका छोडिरहेका छन्’, उहाँले भन्नुभयो– ‘अझै तीन दिन बाँकीसम्म यात्रु बाहिरिने क्रम जारी रहने भएकाले अझै बढ्न सक्ने सम्भावना रहेको छ।’

मंगलबार मात्रै १ लाख ९९ हजार १ सय २१ जनाले उपत्यका छोडेका थिए भने बुधबार २ लाख २१ हजार ३ सय ६९ जना यात्रुले उपत्यका छोडेका थिए। यसरी तथ्यांक हेर्दा पनि दैनिकजसो उपत्यका छोडेर दशैंका लागि घर जाने यात्रुको संख्यामा वृद्धि भइरहेको छ।
अघिल्लो वर्षहरूमा दशैंमा ३ लाख यात्रुले उपत्यका छोडे पनि योपटक भने घटेर २ लाखको हाराहारीमा पुग्न सक्ने अनुमान महाशाखाको छ। महानवमीसम्म यात्रु घर जान उपत्यका छोड्ने गरेको अघिल्लो वर्र्षको तथ्यांकले देखाएको छ।

महाशाखाले बुधबारसम्म १ लाख ३८ हजार ७ सय ६२ वटा अग्रिम टिकट बुकिङ भएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्