Logo

विप्लव चढ्छन् सत्तारुढ नेकपाको गाडी



काठमाडौं, १७ असोज । सत्तारुढ पार्टीको सम्पत्तिमा अभिलेख राखिएको गाडी अन्य पार्टीका नेताले चढिरहेका छन् । त्यसमाथि पनि विद्रोही विप्लवसले सम्म सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको गाडी चढेको खुलेको छ ।

यो खबर आजको अन्नपूर्ण पोष्टमा रामकृष्ण अधिकारीले लेखेका छन् । नेकपाले आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको गाडीमा प्रतिबन्धित नेकपा महासचिव विप्लव, पूर्वप्र्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईलगायत ११ नेताको गाडी छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि केन्द्रीकृत गर्न लागिएको सम्पत्ति विवरणमा अन्य पार्टीका नेताले प्रयोग गरिरहेका गाडीसमेत छ।

तत्कालीन माओवादी केन्द्रको सम्पत्ति विवरण कार्यालयका तत्कालीन मुख्य सचिव प्रह्लाद बुढाथोकीले असोज १ मा नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल प्रशान्तलाई बुझाएका हुन्।

ढकालले बुझेको पेरिसडाँडास्थित कार्यालयको सम्पत्ति विवरणमा पार्टीको सम्पत्तिका नाममा ३४ सवारीसाधन रहेको उल्लेख छ। त्यसैमध्येका ११ वटा गाडी विप्लवदेखि डा। भट्टराईसम्मले प्रयोग गरिरहेका छन्।

अन्नपूर्ण पोष्टले उल्लेख गरेको उक्त अभिलेखअनुसार माओवादी केन्द्र एमालेसँग एकतामा गएपछि पुनः माओवादी केन्द्र नै ब्युँताएका गोपाल किराती, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल, प्रवक्ता हरिभक्त कँडेल र इन्द्रमोहन सिग्देल, राजनीतिक जीवन छोडेर दाङमा कृषि पेसा अंगालिरहेका लोकेन्द्र विष्ट मगर, समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। भट्टराई, हिसिला यमी, प्रतिबन्धित नेकपाका महासचिव विप्लव, स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली र खडकबहादुर विश्वकर्माले चढिरहेका गाडी पनि नेकपाले सम्पत्तिका रूपमा अभिलेख गरेको छ।

यी गाडी यातायात कार्यालयमा ‘एकीकृत नेकपा माओवादी’ कै नाममा दर्ता छन्। नेकपामा नरहेका तर तत्कालीन माओवादीले पार्टीको गाडी प्रयोगमा लगेका भनी उल्लेख गरेका ११ जना पनि कुनै बेला माओवादीकै नेता थिए।

‘माओवादी शान्ति प्रक्रियामा आएपछि सरकारले केही गाडी तत्कालीन एमाओवादीका नाममा दर्ता गर्न दिएको थियो। त्यसमध्ये नेताहरूसँग रहेका गाडीमध्ये मैले एउटा लगेको हुँ’, राजनीति छोडेर कृषि पेसामा लागेका लोकेन्द्र विष्ट मगरले भने, ‘नाम र नम्बर पार्टीको हो। तर, खर्चपानी मेरो आफ्नै हो। ब्लुबुक एमाओवादी नाममा छ।’

त्यतिबेला सरकारले एमाओवादीका नाममा झन्डै सयवटा गाडी दर्ता गर्न छुट दिएको थियो। धेरै गाडी सेना समायोजनपछि नेपाली सेनाको मातहत आइसकेको छ भने अझै ३४ गाडी तत्कालीन माओवादी नेताहरूले प्रयोग गर्दै आएका छन्।

पार्टी विभाजनपछि जुन पार्टीमा गएका नेताले जुन गाडी प्रयोग गरिरहेका छन्, त्यो उनैको हुने समझदारी भएको क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले बताए। ‘उहाँहरूले यो गाडी आफ्नो पार्टीको भनेर दाबी गर्नु सीधै बेइमानी हो,’ नेता गजुरेलले भने, ‘पार्टी विभाजनपछि सम्पत्तिका विषयमा पटकपटक छलफल भएको थियो। हामीले चढेका गाडी हाम्रै नाममा दर्ता गराइदिन्छौं भन्नुभएको थियो उहाँहरूले। तर कार्यान्वयन हुन सकेको छैन। हामी चढिरहेका छौं। गाडी एमाओवादीका नाममा छ।’

समाजवादी पार्टी उपाध्यक्ष हिसिला यमीले त्यस बेला एउटै पार्टी हुँदाको गाडी रहेकाले अहिले नेकपाले दाबी गर्न नमिल्ने बताइन्।

पुनर्गठित माओवादी केन्द्रका नेता गोपाल किरातीले भने आफूसँग गाडी नरहेको बताए। तत्कालीन पार्टीको पाचौं विस्तारित बैठकलगत्तै आफूले गाडी रामबहादुर थापालाई बुझाएको उनले बताए।

‘पार्टी शान्ति प्रक्रियामा आउनेबित्तिकै पोलिटब्युरो सदस्यलाई गाडी दिइएको थियो। तर, बालाजुको पाँचौं विस्तारित बैठकमा प्रश्न उठेपछि बादल कमरेडलाई मैले त्यतिबेलै गाडी बुझाएको थिएँ,’ किरातीले अन्नपूर्णसँग भने, ‘उहिल्यै बझुाइसकेको गाडी अहिले मसँग कसरी हुनु रु मसँग गाडी छैन।’

नेकपा केन्द्रीय कार्यालयले भने विवरण संकलन भइरहेको जनाएको छ।गाडी आफ्नो भनेर दाबी गर्नु बेइमानी हो। तत्कालीन एमाओवादी पार्टी विभाजन भइसकेपछि हामीबीचमा सम्पत्ति बाँडफाँटका विषयमा छलफल भएको थियो। कम्युनिस्टहरू सम्पत्तिका लागि लड्न थाले भन्ने सन्देश किन दिनु भनेर वार्ताटोली बनाएर छलफल भयो।

कहाँ कति सम्पत्ति थियो, त्यसको तथ्यांक थिएन। हामीले सम्पत्ति ५५-४५ प्रतिशत गर्‍यौं भन्ने प्रस्ताव गर्‍यौं। उहाँहरूले मान्नुभएन। पछि ६०÷४० को कुरा भयो। प्रचण्डजी ल ठिक छ साथीहरूसँग सल्लाह गर्छु भन्नुभएको थियो। पछि साथीहरूले त्यसमा मान्नुभएन भन्नुभयो र ७०-३० भए मान्ने, नत्र नमान्ने भन्दै आउनुभयो। किन टाउको फोराफोर गर्ने भनेर हामीले छोडिदियौं। गाडी जसजसले प्रयोग गरेका छन् उनीहरूकै हुने सहमति भएको थियो।

हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्‍यो भनेर पटकपटक भन्यौं। उनीहरूले चासौ दिनै छाडे। प्रचण्डले त फोन उठाउनै छाडे। तत्कालीन एमाओवादीको सम्पत्तिमा दाबी गर्ने अधिकार उहाँहरूको पनि छैन। किनकि त्यतिबेलाको पार्टी वैधानिक रुपमा अहिले कोहीसँग पनि छैन।

गाडी दर्ता पनि एमाओवादीकै नाममा छ। नवीकरण पनि त्यही नाममा भइरहेको छ। यातायातका साथीहरूले पनि जुन नाममा छ, त्यही नाममा दर्ता नवीकरण गराउनुहोस् भन्नुभएको छ। कसैले उजुरबाजुर पनि गरेको छैन। File Photo



प्रतिक्रिया दिनुहोस्