Logo

दशैँमा प्रतिव्यक्ति दश केजी चामल



खोटाङ, १७ असोज (रासस) : हलेसी तुवाचुङ नगरपालिकाले खडेरी प्रभावित क्षेत्रका स्थानीयवासीलाई दशैँ मान्न खाद्यान्न उपलब्ध गराएको छ । लामो समयको खडेरीका कारण छरेको मकै पनि सुकेर मरेपछि खाद्य सङ्कटमा परेका स्थानीयवासीलाई नगरपालिकाले राहतस्वरुप चामल उपलब्ध गराएको हो ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकाका ११ वडाका करीब पाँच हजार ५०० घरधुरी खडेरीपीडितलाई दशैँ मान्न जनही १० केजीका दरले चामल वितरण गरिएको नगरप्रमुख इवन राईले बताए । “सुक्खाग्रस्त क्षेत्रका स्थानीयवासीको घरमा अहिले अन्नको दानासमेत छैन”, उनले भने , “खाद्यान्न अभावले दशैँ मान्नसमेत नपाउने भएपछि प्रतिघर १० केजीका दरले चामल वितरण गरिएको हो ।”

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सो नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी र कम्तीमा मासिक रु १५ हजार नियमित आम्दानी भएका बाहेकका परिवारलाई चामल वितरण गरिएको जनाएको छ । खडेरीले मकै छर्न नपाएका र छरिएको मकैको बिरुवासमेत मरेपछि नगरसभाबाटै खाद्य सङ्कट क्षेत्र घोषणा गरेको थियो ।

खाद्य सङ्कट क्षेत्र घोषणा गरेको नगरपालिकाले रु एक करोड ३० लाख बराबरको चामल खरीद गरेर ल्याएको छ । वडा नं ९ सल्लेबाट खाद्यान्न वितरण शुरु गरेको नगरपालिकाले सबै वडाका खडेरी प्रभावितलाई वितरण गर्ने जनाएको छ ।

मकै, कोदो, गहत, जुनेलो, फापर र मासभटमास मात्र फल्ने हलेसी क्षेत्रमा फौजी कीराले समेत आतङ्क मच्याएको छ । करीब दुई महीनाअघि फैलिएको अमेरिकन फौजी कीरा अझै नियन्त्रणमा नआएको स्थानीयवासीले बताएका छन् ।

खेतीपातीबाहेक अन्य आम्दानीको स्रोत नहुने सुक्खाग्रस्त क्षेत्रका स्थानीयवासीमा यस वर्षको खडेरीले खाद्यान्नको चरम अभाव हुने भएको छ । दैनिक छाक टार्नको लागि एक मात्र विकल्प रहेको खेतीपातीसमेत लामो समयको खडेरी र फौजी कीराको प्रकोपले स्थानीयवासी चिन्तित बनेका छन् ।

खडेरीका कारण यस वर्ष जिल्लामा कम्तीमा पनि ४० प्रतिशत खाद्यान्न उत्पादन घट्ने सम्भावना रहेको कृषि ज्ञान केन्द्र खोटाङ प्राविधिक सहायक हरिनारायण राईले बताए । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लाका अन्य ठाउँमा समेत खडेरीले असर गरेको छ ।



प्रतिक्रिया दिनुहोस्