Logo

कार्यविधि नबन्दा पशुसेवा भ्यान सञ्चालनमा समस्या



बनेपा, १७ असोज (रासस) : पशु सेवा भ्यान सञ्चालन कार्यविधि नबनेका कारण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेललाई प्राप्त भएको भ्यान सञ्चालनमा समस्या भएको छ ।

करीब दुई महीनाअगाडि प्रदेश सरकारबाट प्राप्त सो भ्यान जिल्लामा नै पहिलो पशु उपचार सेवाका लागि प्राप्त भएको भ्यान हो । तर सञ्चालन कार्यविधि नबनेकै कारण सेवाप्रवाहमा भने समस्या देखिएको विज्ञ केन्द्रले जनाएको छ । भेटेरिनरी अस्पतालका प्रमुख डा मोगलप्रसाद शाहले कार्यविधि बनेर नआएका कारण प्राप्त भएको त्यत्रो समयमा पनि खासै सञ्चालन नभएको बताए । “कार्यविधि बन्ने क्रममा छ, आइसकेको छैन”, शाहले भने , “भ्यान छ भनेर थाहा पाएका किसानले फोन गरेको खण्डमा सेवा भने दिने गरेका छौँ ।” कार्यविधि नबनेकै कारण त्यसरी दिएको सेवा निःशुल्क गर्ने गरेको उहाँको भनाइ छ । जो आउँछ, उसैलाई सेवा दिने गरे पनि कार्यविधि नबनेकै कारण राजश्व असुली गर्न नपाएको उनले बताए ।

विश्व रेविजविरुद्धको दिवस र विश्व पशुपक्षी दिवसका अवसरमा बजार क्षेत्रमा सञ्चालन गरेको कुकुर बन्ध्याकरणका क्रममा जति पनि कुकुर ल्याएको थियो, त्यो सबै भ्यानबाट ल्याएको उनले बताए । केही बाख्रा फार्मका किसानले फोन गरेपछि त्यसमा पनि सेवा दिएको शाहले बताए । ठाउँ–ठाउँबाट किसानले गरेको फोनको भने सम्बोधन गर्दै आइरहेको जनाएको छ ।

कार्यविधि बनेपछि दूरीको हिसाबले शुल्क लिने र त्यो राजश्वका रुपमा जम्मा हुने कार्यालयका प्रमख डा शाहले बताए । कार्यविधि प्राप्त भएसँगै जिल्लाको सबै स्थानीय तहका किसानबाट आएको मागको आधारमा सेवा प्रदान गर्न सक्ने केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्