Logo

चीनले नेपाललाई ऋणमा डुबाएर भूमिमाथि दाबी गर्छ-डा. सुन्दरमणि दीक्षित



डा. सुन्दरमणि दीक्षित बौद्धिक व्यक्तित्व हुन् । उनले लामो समययता नेपालका नेताहरुसँग संगत गरेका छन् । पेशाले चिकित्सक भएपनि बहु विषयमा जानकार उनी विदेश सम्बन्धमा पनि दख्खल राख्छन् । उनीसँग पछिल्लो राजनीतिक घटनाक्रम र चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणबारे नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
यसपालिको दशैं तपाईं कहाँ कसरी मनाउँदैहुनुहुन्छ ?
यसपालिको दशैं काठमाडौंको आफ्नै घरमा मनाउँछु । बाहिर कतै जाने योजना छैन ।
देशको राजनीतिक घटनाक्रमप्रति तपाईंको प्रतिक्रिया के छ ?
जति सोचे पनि जे गरे पनि हाम्रो देशको राजनीति चेन्ज हुँदोरहेछ । तपाईंले एक वर्ष अगाडि सोध्दा पनि त्यही थियो । अहिले पनि त्यही नै भएको छ । कतै सुधार भएको छैन । मुलुक चल्न सक्दैसकेको छैन ।
देशमा दुई तिहाईको सरकार छ, के कारणले राम्रो चल्न सकेन ?
यहाँ मुख्य कुरा दुईतिहाई पाएको सरकारले कामै गर्न सकेन । लोकतन्त्रमा त्यत्रो बहुमत पाउनु ज्यादै ठूलो कुरा थियो । त्यति ठूलो बहुमत पाएर पनि जनताको हितमा केही काम भएन । यो पक्का कुरा हो । बरु नेताहरुको आफ्ना फाइदाका चाहिं धेरै कुरा भए । यो सरकारले रत्तिभर काम गर्न सकेको छैन । जताततै भताभुंग, लथालिंग भएको छ । भ्रष्टाचार, महंगी, अनियमितता, अराजकताले मुलुक आक्रन्त छ । मुलुकका लागि फाइदाजक काम कतै कुनै क्षेत्रबाट भएको छैन ।
त्यसो भए मुलुक अतियमितताले आतंकित छ हो ?
अनियमितताको त कुरै छोड्नुस् । कुन ठाउँ चाहिं ठीक छ । अझ भ्रष्टाचारले त मुलुक चुर्लुम्बै डुबेको छ, यसलाई कताबाट निकाल्ने हो मलाई थाहा छैन । ओलीजी आउनेबित्तिकै ‘म अब कसैलाई भ्रष्टाचार गर्न दिन्न’ भन्नभयो । अहिले कुलुक यसरी डुबेको छ उहाँ त्यसलाई के जवाफ दिनुहुन्छ । उहाँले त्यसको जवाफ दिन सक्नुहुन्न । किन उहाँको नाकैमुनि भ्रष्टाचार भइराखेको छ । मेलम्चि हेर्नुस् के भइराखेको छ ? सुनकाण्ड कहाँ पुग्यो ? त्यस्तै एनसेल के भयो ? ललितानिवास जग्गा प्रकरण कहाँ पुग्यो ?
अनियमितताको काण्डैकाण्डमा फसेको मुलुकलाई कसरी उतार्ने ?
हामी कहाँनेर फस्यौं भने लोकतन्त्र हो । अहिले मिलिजुली सरकार भएको भए अलिकति तलमाथि हुनेबित्तिकै हामी पनि सडकमा गएर हटाउ–हटाउ भन्ने थियौं । दुईतिहाईको सरकार छ । जनताको मत भनेको त्यही हो । यत्रो मत भएको सरकार हामीले अहिले हटाउ भन्न मिल्दैन । यसलाई सप्रिन भनेर जति पनि कराउँछौं । हरेक पटक सडकमा उत्रिएर सप्र भन्न पनि हामी सक्दैनौं । हामी सबै प्रफेसनल मान्छे हौं । लोकतन्त्रमा कम्तिमा जनताको आवाज सुन्नु त प¥यो । मुख्य रुपमा ओलीजी र प्रचण्डजी सुन्दै नसुन्ने । अनि यिनका तलका मन्त्रीलाई के दोष दिने ? यी दुवैजना कामै गर्न नसक्ने भएका छन् । खाली जनताले हामीले गरेको प्रगति देखेनन् भनेर ठूला–ठूला कुरा गर्ने । कहाँ के गरेको छ र देख्ने ?
यो सरकार असफलै हो त ?
अहिलेसम्म बिलकुलै असफल हो । केमा सफलता छ । सफलताको कुरै नगर्नुस् । कतै पनि सफलताको टुक्रा–टुक्रा पनि छैन । कहाँ छ सफलता अस्ति ५० किलोमिटरसम्मको मोटरको लाइन देख्नुभएन ? गल्छीदेखि नाकढुंगासम्म । त्यो सफलता हो ? चाइनाको राष्ट्रपति आउँदैमा सफलता हुन्छ त्यो सफलता हुँदैहोइन ।
किन होइन चीनको राष्ट्रपति नेपाल आउँदै हुनुहुन्छ ?
चाइनाका आउन् कि अमेरिकाका आउन् नेपालीलाई के भयो ? आम नेपाली जनतालाई के हुन्छ ? ओलीजीले सलाम खानुहोला । उहाँलाई चीनका राष्ट्रपतिसँग हात मिलाएको, हिंडेको टिभीले देखाउलान् । भोजभतेर देखाउलान्, ठूला–ठूला तारे होटमा बसेको देखाउँलान् । सर्वसाधारण के हुन्छ ? सास्ती मात्रै हो । अब त्यो एयरपोर्टै कति दिन बन्द हुने हो । यिनीहरुको फटाईंमा हामीले कति सास्ती खुप्ने । आपूmहरु जे पायो त्यहीं गर्दै हिड्ने । उहाँ आउनु त राम्रो कुरा हो । त्यो नै नेपालको सफलता चाहिं होइन । जनताको लागि त्यो सफलता कुनै हालतमा होइन ।
चीनसँगको मित्रता प्राथमिकता छ हाम्रो ?
चीनसँगको मित्रतामा कहिल्यै पनि खराब थिएन । राजा महेन्द्रको समयदेखि हेर्ने हो भने चीनसँग हाम्रो सम्बन्ध कहिल्यै नराम्रो छैन । बरु भारतसँग कहिलेकाहंी डाउन हुन्छ तर चीनसँग कहिल्यै त्यस्तो भएको छैन । अझ महेन्द्रको समयमा त सबैभन्दा बढी चीनसँग सम्बन्ध राम्रो थियो । त्यसैले अहिले कम्युनिष्ट सरकारले चीनसँग सम्बन्ध जोड्नु अच्मको कुरा होइन । तर, चीनसँग जोडिइँरहँदा भारतसँग टाढिएर गएमा पो समस्या देखिएको छ । भारतसँग हाम्रो ओपन बोर्डर छ, यत्रो आवतजावत छ । अब चीनसँग राम्रो सम्बन्ध राख्नेभन्दाभन्दै भारतलाई लत्याउँदा त भोलि त्यहाँ समस्या पर्छ । चीनसँगको सम्बन्ध राम्रो राख्नुपर्छ हुनु पनि पर्छ, हुँदै आएको पनि छ । त्यसको मतलब भारतलाई लत्याउने होइन । अहिले प्रष्ट रुपमा भारतलाई लत्याको देखिएको छ ।
लोकतन्त्रमाथि चौतर्फी प्रहार शुरु भएको हो ?
त्यसमा दुई मतै छैन । सत्तारुलिङ पार्टी आपैmले यो लोकतन्त्रमाथि प्रहार गर्न थालिसकेको छ । मलाई यस्तो शंका लागेको छ । अब आउने चुनाव हुनै नसक्ने हो कि वा हुन नदिन अहिलेदेखि प्लानिङ गरेको हो कि । चीनले आएर प्रशिक्षण दिने । नेपालको जस्तो बहुदली शासन त चीनले पक्क पनि मान्ने होइन होला । नेपालमा कतै चीनको एकतन्त्री शासन त आउने होइन ? नकपाले चीनसँग प्रशिक्षण लिनुपर्ने कारण के हो ? नेपालमा त आपैmले गर्न सक्ने हो । कि अब नेपालका नेता कसैले नभनी केही गर्न सक्दैनन् कि उनीहरुको व्यवस्था लाद्न खोजेका छन् ।
त्यसो भए सिको विचार नेपालमा लागु हुन सक्दैन ?
सक्दैन । सिको विचार अनुसार नेपाल चल्न थाल्यो भने त बहुदलीय व्यवस्था गइहाल्छ नि । २००७ सालदेखिको क्रान्ति त गयो । त्यो सर्तमा रेल दिएको हो भने नेपाल सकियो । हाम्रो नेताहरुले अहिले मानेका छैनन् । चीनको व्यवस्था लागु गर्ने गरी रेल दिएको हो भने अहिले जसरी प्रहारहरु भइरहेका छन् । त्यसले त्यही देखाउँछ । जसरी निर्दोष व्यक्तिहरुमाथि दिनप्रतिदिन प्रहार भइराखेको छ । त्यसले नेपालको लोकतन्त्र जाने खतरा भयो । मुलुक एकतन्त्री शासनतिर जान लाग्यो ।
चिनीयाँ राष्ट्रपति नेपालआइरहँदा केरुङ–काठमाडौं रेलको कुरा एकदम बहसको विषय बनेको छ यो रेल ल्याउँदा अनुदानमा ल्याउने कि ऋणमा ?
पहिलो कुरा त नेपालमा अहिले यत्रो रेल आइहाल्नुपर्ने कुनै कारण नै छैन । पहिला त जनताको जीवनस्तर उठाउने कुरा गर्नुपर्छ । खोइत नेताहरु गाउँगाउँमा विकास निर्माण गरेको ? यहाँ रेलको कुरा छोडौं भइराखेको सडक त सफा गर्न सक्दैनन् । रेल आउने त कल्पनाको कुरा हो । भइराखेको सडकमा खाल्डैखाल्डा छन् । हिलाम्मै भएर बस, ट्रकहरु खसिरहेका छन् । ५० किमि.सम्म सडक जाम हुन्छ । त्यो विषयमा नेताहरुलाई कुनै मतलबै छैन । रेलको कुरा गर्ने ? ए बाबा हिड्न नसक्ने व्यक्तिले म्याराथन दौडिन्छु भनेर हुन्छ । रेल आउला कुनै जमानामा ल्याइयो भने पनि त्यो ऋणमा ल्याउने सम्भवै छैन । रेल ऋणमा ल्याइयो भने दुई-तीन पुस्तासम्म हामीले चीनलाई पैसा तिर्न सक्दैनौं । चीनको ऋणमा नेपाल डुबेपछि हाम्रो भू–भागमाथि उसले दावी गर्न थाल्छ । चीनले तिमीले ऋण तिर्न सकेनौं अब यति भू–भाग हामीलाई लिजमा देऊ भनेको खण्डमा हामीले के गर्ने ? श्रीलंकामा त्यही भएको छ । Photo File



प्रतिक्रिया दिनुहोस्